दोलखा- अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि खुलेको छ । यसअघि माथिल्लो तामाकोशीको शेयर खरिद गरेका कम्पनी तथा दोलखाली सहित सबै सर्वसाधरणका लागि हकप्रद शेयर खुल्ला गरिएको हो ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा लगानी गरेका जिल्लाका नागरिकहरुले पुनः सोही कम्पनीको हकप्रद शेयर भर्ने अवसर पाएका छन् । लगानी गर्न चाहने लगानीकर्ताहरुले आजदेखि असोज ७ गते सम्म हकप्रद शेयर भर्न पाउनेछन् । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलबिद्युत आयोजनाका लागि माथिल्लो तामाकोशीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरुबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम संकलन गरी बित्तीय व्यवस्थापन गर्न लागेको हो ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखामा रहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद विक्री गर्न खोजेको हो । कम्पनीको हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । सोही बराबरको प्रति शेयर रकम १०० अंकित दरले १० करोड ५९ लाखकित्ता साधारण शेयरको हकप्रदबिक्री खुला गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्रीप्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–बिक्रीप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानीकोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्रबोर्डबाट अनुमतिलिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
साथै, लगानीकर्ताहरुको सहजताका लागि जिल्लास्थित पालिकाहरुमा स्थानीयस्तरबाटै हकप्रद शेयर भर्ने, डिम्याट खाता खोल्ने र शेयर अभौतिकिकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैले जिल्लाका नागरिकहरुले तोकिएको अवधिमा सम्बन्धित वडामा गएर आवेदन गर्न सक्नेछन् ।


विश्व खबर 


















