धरान- वृत्ति विकासको माग गर्दै गत बुधबारदेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।
आन्तरिक बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले शैक्षिक कार्यक्रम बहिष्कार गर्दै उपकुलपतिको कार्यालय अगाडि धर्ना दिँदै आएका थिए ।
चिकित्सकहरुले आइतबारदेखि परीक्षा शाखामा तालाबन्दी गर्दै आन्दोलन चर्काएका हुन् ।
उनीहरुको तालाबन्दीका कारण प्रतिष्ठानमा सञ्चालन भइरहेको परीक्षा प्रभावित भएको छ । साथै पठनपाठनसमेत ठप्प भएको छ । तत्काल रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेसम्म आफूहरु शैक्षिक गतिविधिमा सहभागी नहुने आन्दोलनरत चिकित्सकहरुको भनाइ छ ।
आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा बीपी प्रतिष्ठानको उदासिनताप्रति चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् । प्रतिष्ठान व्यवस्थापनले आफ्ना माग पूरा गर्न नसके पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न उनीहरुले माग गरेका छन् । उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको लाचारिपनका कारण बढुवा प्रक्रिया रोखिएको आरोप लगाएका छन् ।
प्रतिष्ठानमा कार्यरत एसोसिएट प्रोफेसर डा. मधुर वस्नेतले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको जनाए । उनले भने, ‘जबसम्म यसको निकास निस्कदैन तबसम्म प्रतिष्ठान अगाडि बढ्न सम्भव छैन । त्यस कारण सबै मिलेर निकास निकाल्न आवश्यक छ ।’
विगत सात महिनादेखि जारी बढुवा प्रक्रिया प्रतिष्ठान व्यवस्थापनको कारण लोक सेवा आयोगले रोकेको आन्दोलित चिकित्सकहरुको भनाइ छ । प्रतिष्ठानले अनावश्यकरुपमा आयोगको राय मागेपछि आयोगले निमायवली संशोधन गरेर मात्र गर्नु भन्ने निर्देशन दिएको छ ।
विगतमा तीन–तीन महिनामा बढुवा प्रक्रिया हुने प्रतिष्ठानमा अहिले ६ वर्षदेखि नभएको र वृत्ति विकास हुन नपाउँदा धेरै शिक्षकहरु पलायन हुन थालेका छन् ।
समयमा बढुवा नहुँदा प्रतिष्ठानका कतिपय विभागहरु प्रोफेरसविहीन बनेका छन् । केही विभागहरुमा एक जना मात्र प्रोफेसर रहेका छन् । जसको कारण डीएम एमसीएच अध्यापनमासमेत समस्या भएको जनाइएको छ ।


विश्व खबर 



















