काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताएका छन् ।
रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाएका छन् ।
बिज्ञप्तिमा उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले आफू केपी ओलीको नेतृत्वमा रहेको पार्टीसँगै रहेकाले माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन्। आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उनले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताएका छन् ।
ररायमाझीले भनेका छन्, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।’
उनले सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।
रायमाझीले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’
प्रतिक्रिया दिनुहोस्