काठमाडौं । वार्ता र संवाद जारी राख्दै पार्टी एक ढिक्का बनाउने विषयले आकारै नलिने लामो श्रृंखलाबाट गुज्रिरहेको नेकपा एमालेका दुवै पक्ष एकताका लागि नयाँ–नयाँ शर्तहरू अगाडि सार्ने होडबाजीमा उत्रेका छन् ।
६ बुँदे प्रस्ताव अघि सार्दै एकताका लागि आह्वान गर्नुभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको पूर्व अवस्थामा फर्काउन नेपाल–खनाल खेमाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेको छ ।
तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त राखेको समूहकी नेता निरा देवीले बताए ।
उता, ओली पक्ष पनि यस्तो शर्त मान्न त के सुन्न समेत तयार रहेको छैन । ओली पक्षका नेता महेश बस्नेतले माधव नेपाल पक्षले एकपछि अर्को शर्त राखेर पार्टी विभाजनको बाटो रोजेको आरोप लगाएको छ ।
एकताको कुरा गर्दै गर्दा दुवै खेमा एक अर्को खेमाबाट नेता चोर्ने रणनीतिमा रहेको देखिन्छ । ओली पक्षले सत्ताको दुरुपयोग गरी दवाव सिर्जना गर्नेदेखि विभिन्न प्रलोभन देखाइरहेको आरोप नेपाल समूहको छ ।
सिद्धान्तगत मतभिन्नता भन्दा पनि नेताहरूबीचको जुँगाको लडाईंको रूपमा रहेको एमाले झगडा साम्य भएर पार्टी एकता हुने भन्दा आ–आफ्नो बाटो लाग्ने सम्भावना प्रबल बन्दै गएको छ ।


विश्व खबर 




















