images
images
  • चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली किन आयो काठमाडौं ?

    काठमाडौं- चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । सेनाको तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर तथा मेजर जनरल युयेको नेतृत्वमा सीमा सुरक्षा सम्बन्धी आठ सदस्यीय टोली बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको बताइन्छ । उनीहरु एअर चाइनाको उडान नम्बर सीए ४३७ मा छन्तु हुँदै आएका हुन् ।

    टोलीलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापा र सहायक रथी सुनिल श्रेष्ठ तथा चिनियाँ दूतावासका डिफेन्स अट्याची वरिष्ठ कर्नेल लिउ को चङ, डेपुटी डिफेन्स अट्याची कर्नेल लुफङलगायतले विमानस्थलमा स्वागत गरेका हुन् । टोलीका केही सदस्यलाई सोल्टी र केहीलाई याक एण्ड यति होटलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

    नेपाली सेनाका उच्च अधिकारीहरुसँगै सरकार र राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि टोलीले भेटघाट गर्ने कार्यक्रम छ । टोलीमा ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् ।

    अर्को महिना नेपाल चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाले मेजेर जनरलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि वरिष्ठ कर्णेल नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो ।

    तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिइएको छ, त्यसैले सेनापतिसँग भेटवार्ता सैनिक जनसम्पर्क निर्देशनालयले पनि केही बोलेको छैन ।

    उच्च स्रोतका अनुसार यसपटक चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी गरेको छ । चिनियाँ सेनाले विषेश गरेर विकास निर्माण र अस्पताल सम्बन्धी उपकरणहरु दिने सम्झौता गर्ने बताइएको छ ।

    सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनाको टोली नेपाल भ्रमणमा रहेको स्वीकार गरे । नियमित सम्बन्धका कारण काठमाडौं आएको भन्दै उनले भने, ‘यो नियमित भ्रमणको शिलसिला हो । यसमा खास कुरा केही छैन ।’

    जनमुक्ति सेनाका अधिकारीहरु नेपालको भ्रमण गरेर आगामी आइतबार स्वदेश फर्कने बताइएको छ ।

    सैन्य अभ्यासको तयारी
    नेपाली सेना र चिनियाँ सेनावीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने रक्षा अधिकारीहरु बताउँछन् ।

    अहिले नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोलीले सैन्य अभ्यासबारे पनि चासो दिएको छ । पहिलो पटक हुने लागेको यो अभ्यासमा कति जना सहभागी गराउने, कुन स्थानमा गर्ने भन्ने लगायतका विषयमा दुई देशका सेनाले तय गरेपछि मिति तोकिने सेना स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images