काकाठमाडौं- मेडिकल काउन्सिलको गलत सूचनाले नक्कली डाक्टरको अपरेशनमा सक्कली डाक्टर पक्राउ परेको पुष्टि भएको छ ।
मेडिकल काउन्सिलले गलत सूचना दिँदा नक्कली डाक्टरको ठाउँमा सक्कली डाक्टर पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन् । ‘हामीले काउन्सिलले दिएको सूचनाका आधारमा पक्राउ परेका हौं तर, उनीहरूले गलत मान्छेको सूचना दिएका रहेछन्,’ एआईजी बज्रचार्यले भनिन् ।
काउन्सिलले यथार्थ बाहिर आएपछि २८ गते सीआईबीलाई पत्र लेखेर ‘भूलबस’ भनेर जवाफ पठाएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली डाक्टरको अपरेशनमा महात्तरी पिपरा-८का ३२ रञ्जित कुमार यादवलाई असार २५ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो । करिब ४ दिन हिरासतमा बसेपछि आइतवार उनी सक्कली डाक्टर भएको पुष्टि भएको थियो ।
डा. रञ्जितलाई अहिले एउटै भयले सताइरहेको छ, “जीवनमा लक्ष्य त भेटौँला पैसा पनि कमाउँला तर मेरो गुमेको प्रतिष्ठा कसरी फर्काउने ? कति जनालाई र कहाँ कहाँ मात्रै भन्दै हिडौँ कि म नक्कली डाक्टर होइन भनेर …”
कसरी भए पक्राउ ?
महोत्तरी पिपराका डा.रञ्जितकुमार यादव लोकन्थलीमा डेरा बसेर एमडीको तयारी गर्दै थिए । साउन २५ गते बिहीवार दिउँसो डेरामै पढिरहेका बेला नचिनेको नम्बरबाट फोन आयो, अर्का एक साथीको नाम लिएर फोनमा बोल्ने व्यक्तिले भने– तपाइँसँग भेट्नु छ बाहिरसम्म आउनुहुन्छ ?”
डा.रञ्जितले आफू बसेको घरको गेट अगाडि आउन भने । केहीबेरमै गेट अगाडि आएका व्यक्तिले रञ्जितलाई समात्दै भने, “तपाईँसँग केही सोधपुछ गर्नु छ, सीआईबीको कार्यालयमा हिँड्नुस् ।”
उनले के विषयमा कस्तो सोधपुछ भनी जान्न खोजे तर केही बोल्न नपाइ उनलाई प्रहरीको भ्यानमा राखेर सरासर सीआईबी अफिस महाराजगञ्ज पु¥याइयो ।
सीआईबी कार्यालय महाराजगञ्जको थुनुवा कक्षमा विभिन्न आरोपका धेरै थुनुवाहरु एउटै कोठामा थिए, रञ्जितलाई त्यहीँ राखियो । डाक्टर भने उनीसहित दुईजना रहेछन्, बाँकी सबै अरु आरोपका थुनुवा ।
रञ्जितले आफ्नो परिवारलाई खबरसम्म गर्छु भनि आग्रह गरे तर थुनुवा कोठामा पु¥याउनासाथ उनको मोबाइल खोसियो । आफूलाई कुन कसुरमा ल्याइएको हो भनि जिज्ञासा राख्दा सीआईबीका अधिकारीले ठूलो फाइल पल्टाउँदै रञ्जित यादवको नामका थुप्रै कागजात देखाए ।
ती कागजातका नाम डा। रञ्जितकुमार यादव नै थियो, तर उनीसँग विवरण मिल्दैनथ्यो । न कागजातमा भएको फोटो नै उनको थियो ।
रञ्जितले यो मेरो फोटो र कागजात हैन भन्ने अडान लिइरहे तर सीआईबीका अधिकारीले उनलाई जवाफ दिए, “यो डकुमेन्ट मेरो हो होइन तपाइँले भन्ने होइन, हामी आफैँ छानबिन गर्छौँ ।”
“साँघुरो थुनुवा कोठा २७ जना कोचाकोच, न भनेको बेला शैचालय जान पाइन्थ्यो न कसैसँग सम्पर्क गर्न, पूरा एक दिन बित्यो उता मिडियामा समाचार छ्याप्छ्याप्ती भइसक्यो भन्ने लाग्यो यता म छटपटाइरहेँ,” डा. रञ्जितले आफ्नो अनुभव सुनाए ।
थुनुवा कोठामा उनलाई निन्द्रा लाग्दैनथ्यो , परिवार कति छट्पटाइरहेका होलान्, समाजले के सोच्यो होला यही चिन्ताले सताइरह्यो ।
रातको १२ बजे ड्युटीमा रहेका एक सीआईबी अधिकारीले आफ्नै मोबाइलबाट परिवासँग सम्पर्क गराइदिए रञ्जितले आफ्नो अवस्थाको जानकारी बल्ल परिवारसम्म गराउन पाए । तीनदिनको बीचमा अदालत लैजाने म्याद थप गर्ने, बयान लिनेलगायतका कारबाही चलिरह्यो ।
प्रत्येक बयानमा डा। रञ्जित आफ्ना कुनै पनि तहका शैक्षिक प्रमाणपत्र नक्कली नभएको र आफूले विराटनगरको नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेको बताइरहन्थे । तर सीआईबीको दाबी थियो– तपाईँले केही भन्नुपर्दैन तपाईँ बंगलादेशबाट एमबीबीएस पढेर आउनुभएको हो र ती शैक्षिक कागजात नक्कली छन् ।
तीन दिनपछि जब सञ्चारमाध्यमहरुमा डा.रञ्जित नक्कली चिकित्सक नभएको समाचार आउन थाले, बल्ल उनलाई केही राहत महसुस् हुन थाल्यो, लाग्यो– अब त छुट्छु कि…
साउन २८ गते साँझ नेपाल मेडिकल काउन्सिल र चिकित्सक संघका प्रतिनिधि सीआईबी कार्यालयमा पुगे, सीआईबीले संकलन गरेका कागजात उनीहरुलाई देखाइयो । संघका महासचिव डा। सञ्जिव तिवारीले डा. रञ्जित नक्कली चिकित्सक नभइ एमडीको तयारी गरिरहेका डाक्टर र संघका आजीवन सदस्यसमेत रहेको बताए ।
तर यत्तिकैमा सीआईबीका अधिकारीहरु मान्नेवाला थिएनन् रातको ११ बजेसम्म छलफल चलिरह्यो । अन्ततः काउन्सिलले उपलब्ध गराएको रञ्जितकुमार यादवको कागजात पक्राउ गरिएका डा. रञ्जितको नभएको पुष्टि भयो र तीन दिनको कष्टकर बसाइपछि आइतबार राति उनी छुटे ।
विशेषज्ञ चिकित्सक बन्ने सपनामा दौडिइरहेका डा. रञ्जितलाई अहिले एउटै भयले सताइरहेको छ, “जीवनमा लक्ष्य त भेटौँला पैसा पनि कमाउँला तर मेरो गुमेको प्रतिष्ठा कसरी फर्काउने ? कति जनालाई र कहाँ कहाँ मात्रै भन्दै हिडौँ कि म नक्कली डाक्टर होइन भनेर …”


विश्व खबर 



















