विराटनगर- कोसीका मुख्यमन्त्री थापाले लिए शपथ, पहिलो चरणमा तीन मन्त्रीले पाए जिम्मेवारी विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार अपरान्ह्र प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघि असार २१ मा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएका कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।
मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको हो ।
थापाले आजै मन्त्रिमण्डल पनि विस्तार गर्दै नवनियुक्त मुख्यमन्त्री थापाले आजै तीन मन्त्रीको जिम्मेवारी तोक्ने भएका छन् ।
जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, भौतिक पूर्वाधारमा कमल जबेगुले र खानेपानी सिँचाइ तथा ऊर्जामा प्रदीपकुमार सुनुवार जिम्मेवारी पाउने भएका हुन् ।
गौतम माओवादी, जबेगु नेकपा एस र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको तयारी ५ बजेका लागि गरिएको छ ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याबिनेटका मन्त्री दोहोरिने सङ्केत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए ।
उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।





















