काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र रहेका कर्मचारीलाई बाहिर पठाउन सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा करिब पाँच वर्ष अवधि पुगेका सिंहदरबारभित्रका १० उपसचिव र सात शाखा अधिकृतलाई बाहिर सरुवा गरेको हो ।
सरुवा गरिएका १७ मध्ये अधिकांशलाई स्थानीय तहमा पठाइएको छ । शक्ति र पहुँचका आधारमा कोही कर्मचारी वर्षौँसम्म सिंहदरबारमै रहने र कोही लामो समय दुर्गममै रहनुपर्ने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयले सरुवा व्यवस्थापन थालेको हो । स्थानीय तहमा व्याप्त ‘निमित्त’को समस्या हल गर्ने उद्देश्यले पनि सरुवा व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।
१० मध्ये ८ उपसचिवलाई स्थानीय तहमा पठाइयो
मन्त्रालयले सिंहदरबारमा कार्यरत ८ उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
हाल श्रम मन्त्रालयमा कार्यरत दीपक ढकाललाई रौतहटको बौधीमाई नगरपालिका, राष्ट्रिय योजना आयोगका शिवरञ्जन पौडेललाई सिराहाको मिर्चैया नगरपालिका र गृह मन्त्रालयका चोमेन्द्र न्यौपानेलाई बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका सानुबाबु अधिकारीलाई सल्यानको शारदा नगरपालिका, उद्योग मन्त्रालयका श्रीधर गौतम डोटीको शिखर नगरपालिका, श्रम मन्त्रालयका कृष्णप्रसाद खनाललाई रौतहटको वृन्दावन नगरपालिका, श्रमकै खगेन्द्र सुवेदीलाई धनकुटाको पाख्रीवास नगरपालिका र भौतिक पूर्वाधारअन्तर्गत रहेका सोमराज बराललाई सर्लाहीको गोडैता नगरपालिकामा सरुवा गरिएको छ ।
बाँकी दुई उपसचिवमा ०७२ देखि सामान्य प्रशासनमा कार्यरत रेशमलाल कँडेललाई उद्योग मन्त्रालयअन्तर्गत तथा गृहअन्तर्गतका लक्ष्मण ढकाललाई श्रम मन्त्रालयअन्तर्गत खटाइएको छ । उनीहरूलाई पनि काठमाडौं बाहिरै पठाउने तयारी छ ।
त्यस्तै, काठमाडौंबाहिर भौगोलिक क्षेत्रको अवधि काटेका ४ उपसचिवको पनि सरुवा गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरमा कार्यरत भोलाप्रसाद चापागाईंलाई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ल्याएर त्यहाँ कार्यरत शिवप्रसाद हुमागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत तिलोचन रिमाललाई झापाको अर्जुनधारा नगरपालिका ल्याएर त्यहाँबाट गीताकुमारी राईलाई सामान्य प्रशासनको अतिरिक्तमा ल्याइएको छ ।
सिंहदरबारका ७ शाखा अधिकृतलाई पनि गाउँपालिकामा सरुवा
सिंहदरबारबाट सात शाखा अधिकृतलाई पनि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । गृह मन्त्रालयअन्तर्गत रहेका सुशीलकुमार भण्डारीलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, गृहअन्तर्गतकै पवनकुमार शाहीलाई प्युठानको झिमरुक गाउँपालिका तथा एकनारायण भण्डारीलाई सोलुखुम्बुको सोताङ गाउँपालिका पठाइएको छ । उनीहरू तीनपटकसम्म दोहो¥याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन गएका अधिकृतहरू हुन् ।
त्यस्तै, उद्योग मन्त्रालयअन्तर्गतका टोपलाल अर्याललाई सर्लाहीको ब्रह्मपुरी गाउँपालिका, उद्योग मन्त्रालयकै शीतलसिंह उखेडालाई डोटीको सायल गाउँपालिका, उद्योग मन्त्रालयअन्तर्गतकै हरिजंग चन्दलाई जाजरकोटको जुनीचाँदे गाउँपालिका र गृह मन्त्रालयअन्तर्गतका अर्जुनकुमार मण्डललाई सिराहाको औरही गाउँपालिकामा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका तुलसीराम पौडेलको प्युठानको गौमुखी गाउँपालिकामा सरुवा भएको छ ।
को कहाँ ?

























