काठमाडौं- पालिकाको क्वार्टरमै अनैतिक हर्कत गर्ने दमक नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको आपत्तिजनक हर्कतलाई लिएर जनप्रतिनिधिहरु आन्दोलित भएका छन्।
गत शनिबार आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको आपत्तिजनक भिडिओ सार्वजनिक भएपछि निरौला विवादमा परेका छन्।
रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।
यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन गरेको समाचार बाहिरीएको थियो । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् ।
आइतबार मात्रै दकका नगरप्रमुख राम थापाले विज्ञप्ति निकालेर सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएका थिए।
भिडिओ बाहिरिएपछि नगरपालिकाको त्यसबारे नबोलेको भन्दै स्थानीय बासिन्दाले पनि नगरप्रमुखको आलोचना गरेका थिए।
निरौलाले हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन माग गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासभित्र एक महिलासँगको अनैतिक भिडिओ सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाही माग गरेका हुन्।
उक्त घटनाले आमनागरिकको ध्यानाकर्षण भएको बताउँदै उनीहरुले तत्काल बैठक बोलाउन माग गरेका छन्।
उक्त भिडिओ प्रकरणले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन्।





















