काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै आवेदन खुलाएको छ। पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।
श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।
बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।
उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्। यसरी रोजगारीका लागि जाने नर्सहरुले ५ वर्ष मात्र काम गर्न पाउने छन्।
नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ। गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरुले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम मन्त्रालयतका सचिव र नेपालका लागि बेलायती राजदूतबीच गत भदौ महिनामा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो।
दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरु रोजगारीका लागि बेलायत जान पाउने भएका छन्। बेलायत जाने नर्सहरुले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्।
रोजगारीको क्रममा गर्नुपर्ने कार्य र सेवा सुविधासम्बन्धी जानकारी:
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/07/belayet-Nursing.pdf


विश्व खबर 



















