काठमाडौं- जनमत पार्टीले अनिता साहलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने भएको छ ।
प्रचण्डकै आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य साहलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको छ।
मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीका लागि साहको नाम सिफारिस गरेको प्रवक्ता हरेन्द्र चौधरीले जानकारी दिए । “सरकारमा सहभागी हुने निर्णय ग¥यौँ । मन्त्रीको नाम सिफारिस गरिएको छ । मन्त्रालय टुंगो लाग्न बाँकी छ,“ उनले भने ।
कुन मन्त्रालय दिने भन्नेचाहिँ तय भइसकेको छैन। प्रधानमन्त्रीले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर त्यहाँ जनमतलाई पठाउने तयारी गरेका छन्। तर जनमतले भने जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेको छ ।
यसअघि जनमतले सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि पार्टी असन्तुष्ट बनेर सरकार छाडेको थियो।
प्रतिनिधिसभामा ६ सांसद रहेको जनमत सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको छैन।






















