काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन मागेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका छन्।
शुक्रबार कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएर कार्कीले मत विभाजन गराउन सभामुख बाबुराम गौतम समक्ष आग्रह गरे ।
कार्कीले गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भई २५ गते पदभार ग्रहण गरेका थिए । त्यसबेला ६० जना सांसदको समर्थथमा मुख्यमन्त्री बनेका थिए ।
नेकपा (माओवादी केन्द्र) ले जेठ २३ गते र जनता समाजवादी पार्टी (जसपा) ले त्यसअघि जेठ १७ गते समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए ।
अल्पमतमा परेको अवस्थामा कार्कीले सरकारको नीति तथा कार्यक्रम अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका थिए ।
अध्यादेश बिहीबार प्रदेशसभाको बैठकमा टेबुल भएको थियो । त्यसमाथिको संशोधनको लागि ७२ घण्टाको समय दिइएको छ ।
कार्कीले पार्टीबाट अलग भएका नेकपा (एकीकृत समाजवादी)का सचिव तथा कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले एमालेमै फर्कन चाहेको विषयमा जिज्ञासा राखेकोमा आफू स्वागत गर्न तयार भएको बताउँदै भने,“एमालेले विभेद गर्दैन आउनुस्, हामी स्वागत गर्न तयार छौँ । ”
कार्कीले कांग्रेस समक्ष एकपटक विश्वासको मत दिन आग्रह गर्दै भने, “एक पटक मत दिएर हेर्नुस् न । सँगै मिलेर काम गरौँ । माथि जे जस्तो छ यहाँ प्रदेशमा फरक गरे हुन्न ?”
यसअघि पुस १० गते बनेको गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा थिए। त्यहीकारण उनले विश्वासको मत लिन लागेका हुन्।
कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।
कार्कीलाई विश्वासको मत दिने पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। निर्णायक रहेको जसपा सांसद नै बैठकमा उपस्थित छैनन्।





















