काठमाडौं- काठमाडौं । सात वटा ठुला सरकारी अस्पतालमा गरी अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।
बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।
जनरल बेड निःशुल्क भए पनि क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क तिनुपर्ने छ । निःशुल्क उपचार पाउन स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
“कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्”, मन्त्री बस्नेतले भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ ।
“वीर अस्पतालले सात सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्”, मन्त्री बस्नेतले भने । उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।
शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कूल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शय्या निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताए ।
कुन अस्पतालमा कति बेड निःशुल्क ?
वीर अस्पताल – ७००
कान्ति बाल अस्पताल – २४८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमा –६०
परोपकार प्रसूति गृह – ४५०
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र – ९०
राष्ट्रिय ट्रमा सेन्टर – १५०
कोसी अस्पताल – ३३०


विश्व खबर 


















