images
images
  • शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थान, कुन देशमा कति?

    काठमाडौं- राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्, समग्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हाल विभिन्न देशमा ६५१ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् । नेपाली सेनाबाट ६०१, नेपाल प्रहरीबाट १४ तथा सशस्त्र प्रहरीबाट ३६ जना शान्ति मिसनमा खटिएका छन् ।

    दुई साताअघि मात्र नेपालले शान्ति मिसनमा सबैभन्दा धेरै महिला सहभागी गराउने उपलब्धि हासिल गरेको हो । राष्ट्रसंघले शान्ति मिसनमा महिलाको संख्या बढाउने नीतिका कारण पनि यसरी संख्या बढेको अधिकारीहरू बताउँछन् ।

    यो उपलब्धि देशकै लागि पनि प्रतिष्ठाको विषय भएको र राष्ट्रसंघले समेत नेपालको प्रशंसा गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । गत साता काठमाडौंमा सम्पन्न ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा राष्ट्रसंघका उपमहासचिव अतुल खारेले नेपालको प्रशंसा गरेका हुन् । महिला शान्ति सैनिकलाई दुर्गम ठाउँमा पुगेर काम गर्न चुनौतीपूर्ण हुने भएकाले त्यसलाई थप सहज बनाउन राष्ट्रसंघले छलफल थालेको उनको भनाइ थियो ।

    हाल राष्ट्रसंघले द्वन्द्वग्रस्त देशमा १२ वटा शान्ति मिसन सञ्चालन गरिरहेको छ । जहाँ एक सय २१ देशका ७५ हजार चार सुरक्षाकर्मी कार्यरत रहेको राष्ट्रसंघको शान्तिसेना विभागको तथ्यांक छ । त्यसमध्ये शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने देशमा नेपाल दोस्रो स्थानमा छ ।

    एक सय २१ देशमध्ये महिलाको संख्यामा नेपाल पहिलो हुँदा एकातर्फ यसले देशको प्रतिष्ठा बढेको र अर्काेतर्फ राष्ट्रसंघले समेत नेपाललाई भावी दिनमा शान्ति मिसनमा थप प्राथमिकता दिने सैनिक अधिकारीहरू बताउँछन् ।

    कुन देशमा कति छन् ?
    हाल राष्ट्रसंघले द्वन्द्वग्रस्त देशमा १२ वटा शान्ति मिसन सञ्चालन गरिरहेको छ । जहाँ १२१ देशका ७५ हजार चार सुरक्षाकर्मी कार्यरत रहेको राष्ट्रसंघको शान्तिसेना विभागको तथ्यांक छ ।

    नेपाली सेनाबाट हाल ५६८ जना कन्टिन्जेन्ट मिसनमा तथा बाँकी ३३ जना महिला सैनिक पर्यवेक्षक तथा स्टाफ अफिसरका रूपमा कार्यरत छन् । दक्षिण सुडानमा मात्र नेपाली सेनाबाट एक सय ७२ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् ।

    त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा एक सय १०, कंगोमा ९५, लेबनानमा ८४, सिरियामा ५१, लिबियामा २४ र मालीमा १७ जना छन् । सुडान र दक्षिण सुडानबीचको विवादास्पद भूमि अबेयमा १० तथा इराक र वेस्टर्न सहारामा एक–एक महिला सैनिक कार्यरत छन् । अन्य ३६ जनालाई तयारी ड्युटीमा राखिएको सेनाको तथ्यांक छ ।

    सामान्य सेवातर्फ नेपाली सेनामा ०६२ देखि मात्र महिलालाई लिन थालिएको हो । नेपाली सेनामा महिलाले ढिलो अवसर पाए पनि छोटो अवधिमै उनीहरूले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेका छन् ।

    सशस्त्र प्रहरीको एफपियू मिसनमा ३२ तथा अन्य चारजना अनपोल मिसनमा कार्यरत रहेका छन् । नयाँ मिसन मालीमा जाने प्रक्रियामा रहेको र त्यससँगै महिलाको संख्या थप बढ्ने सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्का बताउँछन् ।

    त्यस्तै, नेपाल प्रहरीबाट भने अनपोल मिसन मात्र भएकाले १४ जना नै प्रहरी अनपोल मिसनमा छन् । हवल्दारदेखि एसएसपीसम्मका महिला प्रहरी हाल शान्ति मिसनमा कार्यरत रहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । नेपाल प्रहरीबाट जम्मा ५० जना मात्र मिसनमा कार्यरत छन् । प्रहरीको सबै एफपियू मिसन बन्द भएकाले संख्या न्यून भएको हो । -आजको नयाँ पत्रिकामा समाचार छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images