images
images
  • बझाङ दुर्घटनाः सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारका क्रममा निधन

    धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ।

    दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

    मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो। उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे निधन भएको हो।

    मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो।

    बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार आज दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा मंगलबार दिउँसो पौने २ बजे केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images