काठमाडौं- एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ। स्थगित खेल आजकै स्थितिबाट भोलि सुरू हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि लगातार वर्षाको कारण खेल पुनः सुरु हुन नसकेपछि बाँकी खेल यहीबाट सुरु हुनेछ।
वर्षाको कारण भोलि पनि खेल हुन नसके खेल रद्द हुनेछ। नेपाल एसिया कप पुग्नेछ।
कसले कति विकेट लिए
नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे।
ललितले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए।
५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए। सन्दीपले आयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौं सफलता दिलाए।
त्यसअघि गुलसन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाइ छैटौँ सफलता दिलाएका थिए। गुलसनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन्।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।
८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।


विश्व खबर 


















