images
images
  • मैले नचिनेका बुवाका सन्तानहरु !

    २०७९ चैत २७ गते बेलुकी नौ पच्चिसतिर बुवासँग बोल्ने इच्छा भयो । बुवासँग रातमा खास संवाद हुँदैनथियो तर त्यो दिन बुवासँग संवाद गर्ने इच्छा जाग्यो । फोनमा भन्दा पनि मेसेन्जरमा कल गर्छु भनेर अनलाइन हेरेँ बुवा अनलाइन हुनुहुन्थेन । मेसेन्जरमा सातपटक घन्टी बजे पछि बुवाको ९ः३१ मा बुवाको फोन उठ्यो । म काठमाडौँको घरमा एक्लै थिएँ; बुवाआमा कुस्माको घरमा ।

    मैले बुवालाई भनेँ, “बुवा मलाई आज शून्य महसुस भएको छ । अब हामी सँगै बस्नुपर्छ । भोलि गाडी लिन आउँछ ।” बुवाले पुनःनिर्माण हुँदै गरेको घरलाई सङ्केत गर्दै भन्नुभयो, “कान्छा मलाई पनि किन किन एक्लो महसुस लागिरहेको छ । घरको बन्दोवस्त हुन देऊ अनि आऔँला । मलाई दुई–चार दिन समय देऊ अनि सँगै बसौँला ।” बुवालाई आफ्नो महत्त्वपूर्ण सामग्री राख्ने कोठाको व्यवस्था गरेर काठमाडौँ आउने आग्रह गर्दै लामो संवाद टुङ्गियो । अन्ततः यिनै संवाद बुवासँगका अन्तिम संवाद बने ।

    बुवासँगको अन्तिम संवाद हुनु पाँच दिनअघि म बेल्जियमबाट नेपाल आएको थिएँ । श्रीमती र दुई छोरा बेल्जियम नै थिए । नियतिसँग कसैको केही लाग्दो रहनेछ । बुवाका सात सन्तान भएर पनि महाप्रस्थानको अन्तिम प्रहर कुनै पनि सन्तान उहाँको काँखमा हुन सकेनौँ । आमाको काँखमा उहाँले अन्तिम प्राणको विश्राम लिनुभयो । सबथोक भएर पनि मान्छेसँग नियतिले लेखेपछि केही नहुँदो रहेछ । बुवाको भौतिक शरीरलाई अन्तिम प्रहरमा स्पर्श गर्न नपाए पनि बुवाको पितृ आशीर्वाद सदैव प्राप्त भइरहने छ ।

    संस्कृतिको रूपान्तरण र जनपक्षीय प्रधानपञ्च
    पञ्चायती व्यवस्थामा बुवा प्रधान पञ्च हुनुभयो तर कहिल्यै पञ्चको गन्ध आएन । जनताका दुःख–सुखसम्म सधैँ अहोरात्र लाग्ने बुवा सबैका बुवा बन्नुभयो । मेरो प्रकाशोन्मुख पुस्तक ‘अर्जुनदृष्टि: जीवनका पाँच दशक’ का क्रममा गरिएका बुवासँगका केही संवाद बुवाकै शब्दमा आज यस आलेखमा लिपिबद्ध गरेको छु ।

    “जातले नेवार हुँ तर बाहुन–क्षेत्रीको समाजमा हुर्किएकाले मेरा निम्ति नेवारी संस्कृति–सभ्यता परको विषय बन्यो । हाम्रो पुख्र्यौली थलो – भक्तपुर । पाँच पुस्ताअघि भक्तपुरमा भोजभतेर गर्न नसकेपछि व्यापारका सिलसिलमा पोखरा–कार्कीनेटा (पर्वत) हुँदै हाम्रा पुर्खा फलेवास आइपुगे । नेवारको भोज नै चर्को । रीतिस्थिति पु¥याउन त्यति सहज थिएन । सभ्यता जोगाउन निकै सङ्घर्ष गर्नुपर्ने । यसरी हाम्रा पुस्ताले थातथलो छाडेर यायावरिक बने । मेरा पिताजी स्वर्गीय जिमुवाल देवीप्रसादको विशेष प्रेरणाबाट मैले हाम्रो वंशावली तयार गरेँ ।

    मैले नेवार भाषा–संस्कृति जोगाउन पर्छ भनेर काठमाडौँ र पोखराबाट भाषा–संस्कृति बुझेका व्यक्तिलाई ल्याएर तीन महिनासम्म तालिम दिने योजना बनाएँ तर दाजुभाइका बिचमा समय व्यवस्थापन गर्न र आफ्नो भाषा–संस्कृति सिक्न रुचि प्रकट नभएपछि योजना बिचैमा रोकियो । यद्यपि नेवाः संस्कृति जोगाउनका लागि मैले २०३३ सालबाट एउटा समिति निर्माण गरेँ तर जिम्मेवार बोध गर्न सकिएन र नेतृत्वले साथ दिएन भने एकल योजना सफल नहुँदो रहेछ । यसबाट पत्तो लाग्यो कि कसरी भाषा–संस्कृतिको लोप हुन्छ । दुई भाषा–संस्कृतिको टकरावमा बलियो भाषा–संस्कृतिबाट हामी परास्त भयौँ । अन्ततः नेपाली भाषा र बाहुन–क्षेत्रीकै संस्कारलाई हामीले अपनायौँ ।”

    प्रधान पञ्च हुँदा बुवाले भोग्नुभएका भोगाइ बुवाकै शब्दमा यसरी लिपिबद्ध भएका छन्, “आम मान्छेमा एक किसिमको बुझाइ रहेछ; पञ्च भनेको दुःख दिने मान्छे हुन् । सामन्ती हुन्छन्; परपीडक हुन्छन् । मैले त पञ्च हुँदा पाउने सुविधासम्म पनि लिइनँ । प्रधान भनेर स्नेह गर्नेहरू थिए तर मैले म प्रधान हुँ भन्ने घमण्ड कहिल्यै राखिनँ । मैले सरकारबाट पाउने पैसामा उल्टो थपेर जनताको सेवा गरेँ । फलेवासी जनताका काम लिएर कुस्मा आउँथेँ ।

    महिना दिनसम्म बसेर काम गर्नुपथ्र्यो । त्यसका निम्ति फलेवासी पनि आएर बस्थे । तिनले र मैले खाएका खानाको पैसा मैले नै तिर्नुपथ्र्यो । अरू कुनै स्रोत नहुँदा जमिन बेचेरसमेत मैले होटलको बिल बुझाएको छु । मलाई एउटा घटना स्मरण छ; मलाई लेखापढी गर्न भनेर नुवाकोट पठाइयो । मैले रसिद लेख्ने काम पाएँ तर मेरा हाकिमले मलाई रसिद लेखेबापत सोझा जनताको ढाड सेक्ने गरी पैसा असुल्न भनेपछि मैले एउटा रसिद लेखेपछि उक्त काम छाडिदिएँ । मलाई गरिबको पसिनाले पोल्छ भन्ने लागेपछि मेरा निम्ति बनेको पेसा होइन रहेछ भन्ने निष्कर्ष निकालेर म लेखापढी कामबाट टाढा भएँ ।”

    बुवाका यी संवादका लामा अध्याय छन् । जसलाई मैले जीवनको इमानदारी र समझदारीका रूपमा ग्रहण गरेको छु । उहाँको निष्कर्ष थियो; प्रधानको अर्थ प्रमुख हो । प्रमुख हुनु भनेको सबैको समस्यालाई बुझ्न सक्नु हो । समस्याको समाधान दिन र सही नेतृत्व लिन सक्दैन भने त्यो पदीय रूपमा प्रधान हुन सक्दैन ।

    arjun baba 1 scaledपर्वतेली शिक्षाका धरोहर
    “मैले पढ्न सकिनँ । तिमीहरू सबैले कम्तीमा बिएसम्म पढ्नुपर्छ । बिएसम्म पढ्न सक्याँै भने जीवनका चारै ढोका खुल्छन् ।” शिक्षाप्रेमी बुवाका यी वचन हाम्रा लागि खास थिए । बुवाले सन्तान र भाइहरूलाई मात्र पढाउनुभएन; सिङ्गो फलेवास र पर्वतवासीलाई शिक्षाको ज्योति छर्न अथक यत्न गर्नुभयो । यसको ज्वलन्त प्रमाण जनता माध्यमिक विद्यालय फलेवास पर्वतका संस्थापक, पर्वत बहुमुखी क्याम्पस फलेवास पर्वतका संस्थापक कोषाध्यक्ष तथा चन्दादाता आदि हुन् । बुवा सदैव शिक्षाको परिकल्पनामा चिन्तनशील भइरहनुहुन्थ्यो । घरआँगनमै उच्चशिक्षा पाउन सके धेरै बालबालिकाको भविष्य सुन्दर बन्ने सपना देख्नुहुन्थ्यो । सपनालाई विपनामा रूपान्तरण गर्न उहाँको योगदान साँच्नै अतुलनीय छ ।

    बुवा भन्नुहुन्थ्यो, “मैले खरिपाटीमा साँवा अक्षर चिनेँ । चौतारीमा बसेर गुरु दीक्षा लिएँ । तिमीहरूले खुब पढ्नू । पढाइ भए देशविदेश चिन्न पाइन्छ । विकासले उचित गति लिन्छ । पवर्तमा माध्यमिक र उच्चशिक्षा ल्याउन सक्यौँ भने पर्वत र आसपासका भेगमा ठुलो क्रान्ति हुने छ । यहाँका जनताका घरआँगनमा उज्यालो छाउने छ ।” यही चिन्तनलाई मूर्त रूप दिने बुवा पर्वतेली जनताका शिक्षाप्रेमी धरोहर बन्नुभयो ।

    मैले नचिनेका सन्तान
    जन्मसँगै मृत्यु लेखिएर जन्मनु हामी प्राणीको अन्तिम सत्य हो । प्राकृतिक सत्यलाई कुनै अस्त्र–शस्त्रले रोकेर रोक्न सकिँदैन । बुवाको बोल्दा बोल्दैको वाक्य, हिँड्दा–हिँड्दैको पैताला, चल्दा–चल्दै यात्रा टक्क अडियो र स्थिर बन्यो । त्यसपछि बुवा महाप्रस्थानिक बन्नुभयो ।

    फलेवासको माटोमा बुवाले जीवनको आठ दशक ज्यादा समय व्यतित गर्नुभयो । मलाई लाग्थ्यो बुवाका मसँगै मेरा दुई दाइ र चार दिदी गरी सात सन्तानका मात्र बुवा हुनुहुन्छ । बुवाको महाप्रस्थानले मलाई झस्काइदियो बुवाका त मैले नचिनेका कयन सन्तानहरू रहेछन् । हामी सात सन्तानभन्दा ज्यादा भावविह्वल बनेका फलेवास र कुस्माका आफन्त इष्टमित्रभित्र मैले विराट सन्तानको स्वरूप देखेँ; मेरा लागि ती सदैव अमिट छाप बनेर बस्ने छन् । बुवाको महाप्रस्थानको अन्तिम यात्रा बुवाकै जन्मथलो पर्वतको फलेवासस्थित हाँडीचौरबाट पवित्र देवस्थल कालीगण्डकी नदिको तीर रातढुङ्गासम्म तय थियो । उत्तरी तिब्बत हुँदै मुस्ताङ जिल्लाको कागबेनी मुक्तिनाथ क्षेत्रको काँखबाट बग्ने पवित्र कालीगण्डकीकै काँखमा समाधिस्थ हुन पाउनु हरेक आस्तिक व्यक्तिका निम्ति ठुलो सौभाग्य हुने छ । बुवाको नश्वर शरीरले त्यही स्थानमा आपूmलाई पञ्चमहाभूतमा लीन गरायो ।

    प्रसिद्ध लोकोक्ति सम्झिएँ, ‘जिउँदाको जन्ति, मर्दाको मलामी’ । जीवनमा कमाउने भनेकै यी दुई चिज रहेछन् । बुवाको कर्मले अन्तिम समय बुवालाई माया गर्ने हजारौँ व्यक्तिलाई फलेवासको आँगनीमा डो¥यायो । अन्तिम संस्कार र त्यसपछिका दिनमा बुवाप्रतिको श्रद्धामा भएका भौतिक तथा साञ्चारिक उपस्थितिले पुष्टि ग¥यो कि बुवाले बिताउनुभएका जीवनका आठ दशक साँच्चै महान र स्तुत्य रहेछ । जीवनको गोरेटोमा ‘मान्छे कमाउनु’ को महत्त्व सिकाएर बुवा अन्तध्र्यान हुनुभयो ।

    मृत्युबोधको अद्भुत चेतना
    मृत्यु जीवनको अन्तिम सौन्दर्य हो र अकाट्य सौन्दर्य पनि । गीता दर्शनसँग साक्षात् बुवा सदैव मृत्यु चेतनाबारे भन्नुहुथ्यो, “मृत्युलाई जित्नुपर्छ । बाँच्नु भनेको सास फेर्नु होइन; सास त सबै प्राणीले फेर्छन् तर मान्छेले सकर्म सास फेर्न जान्नुपर्छ ।” बुवाको उपर्युक्त कथनमा ठुलो अर्थ लुकेको रहेछ; निष्काम सास फेर्नु बाँच्नु होइन रहेछ । हामी निष्काम सास फेर्नकै निम्ति बाँचिरहेका छौँ ।

    जनश्रुति वा पौराणिक किंवदन्तीमा वर्णन भएअनुसार श्रेष्ठ महात्मा वा सिद्ध पुरुष आफ्नो मृत्युबारे पूर्वउद्घोष गर्थे; मेरो मृत्यु फलानो सयम–प्रहरमा हुने छ । बुवासँग भएको २७ गते रातिको संवादले बुवामा मृत्युबोधको चेतना गौण रूपमा प्रारम्भ भइसकेको रहेछ । उसो त मृत्युको सङ्केत मैले पनि पाइसकेको रहेछु । व्यक्ति जब साधारण भावबाट उठेर अनौठो गतिविधि गर्न थाल्छ तब ऊभित्र नयाँ घटनाको आगमनको घडी प्रारम्भ हुँदो रहेछ । चैत २८ गते अर्थात् महाप्रस्थानको अन्तिम दिन; उहाँले गर्नुभएका कार्यकलापले उहाँमा मृत्युबोध राम्रोसँग भएको पुष्टि मिल्दछ । बुवाले सहकारीमा राखेको पैसा झिकेर बैंकमा राख्नुभएछ ।

    दिनैभरि जस्तो भेटघाट गर्ने, हिसाबकिताब मिलाउने जस्ता कार्य गर्नुभएछ । नश्वर शरीर त्याग गर्नुपूर्व उहाँले छिमेकी घडी बनाउने भाइलाई सोध्नुभएछ, ‘व्यापार–विजनेस छैन, चल्न कुनै समस्या त भएको छैन ।’ त्यसपछि उहाँलाई केही अप्ठ्यारो महसुस भएछ । बुवाले आपूmलाई अप्ठ्यारो बढ्दै गएको सङ्केत गरेसँगै आमाले बुवालाई काँखमा राखेर दही खुवाउनुभएछ । अन्ततः बुवाको विशाल हृदय भरजन्म सँगै हुने वाचामा सहयात्री बनेकी मेरी आमाको काँखमा टक्क रोकियो । मृत्युबोधको चेतनामा बुवा ब्रह्मलीन हुनुभयो ।

    पुनर्जन्मको फेरमा
    विश्वास छ मेरो बुवा मलाई पुनः सन्तानको ममत्व दिन आउनुहुने छ । मलाई थाहा छ भौतिकवादले अध्यात्मवादलाई विश्वास गर्दैैन तर मन भन्छ बुवालाई अपार माया गर्नुहुने हजारौँ तपाईंका सन्तति एवम् शुभचिन्तकका वचनलाई मान्नका निम्ति पनि तपाईंलाई पुनः मनुष्यलोकमा आउनुपर्ने छ; हामीलाई यसैगरी पुत्रवात्सल्यको छहारीमा समाहित गर्नुपर्ने छ । पूर्वीय दर्शनको आत्मवादी चिन्तनको मर्मलाई बुझ्नुहुने हजुरको दिव्यात्मा पुनः फलेवास र कालीगण्डकी सभ्यतामा उदय हुने छ । बुवा, तपाईंले निर्माण गर्नुभएको इमान र निष्ठाको समाजसेवा, शिक्षासेवा र मानव धर्मको रक्षार्थ अर्जुनदृष्टि सदैव समर्पित भइरहने छ । यी हरफका अन्तिम अक्षर बुवाको वैकुण्ठ यात्राको कामना गर्दै पुनः पुनः हजुरकै सन्तान बन्न पाउने दृढ इच्छार्थ भाव प्रकट गर्दछ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images