
–विशाखा लक्ष्मी खड्का
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।
नेपालको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा एनसेलले विगत दुई दशकदेखि दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ, जसले १ करोड ४० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सामान्य मोबाइल सेवादेखि आधुनिक फोरजी प्रविधिसम्म सेवा विस्तार गर्दै, एनसेलले नेपालको भण्डै ९५ प्रतिशत जनसंख्यामा आफ्नो भरपर्दो सेवा पुर्याएको छ ।
सन् २००५ मा एनसेलले तत्कालिन मेरो मोबाइल ब्रान्डको नाममा नेपाली बजार सेवा दिन थाल्दा मोबाइल सेवा विलासी सुविधा मानिन्थ्यो। तर एनसेलले यसलाई सबैका लागि पहुँच योग्य र किफायती बनाउँदै दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्यायो । यसले ग्राहक सेवा स्तरलाई विश्वस्तरीय बनाउनुका साथै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ ।
पछिल्लो पटकको शेयर स्वामित्व परिवर्तन पश्चात एनसेल अब शतप्रतिशत नेपाली मूलको लगानीकर्ताको स्वामित्व भएको नेपाली कम्पनी बनेको छ । सतिशलाल आचार्य एनसेलका लगानीकर्ता र कम्पनीको सञ्चालक समितीका अध्यक्ष हुन् । कम्पनीले नेपालका ठूला करदातामध्ये एक भएर सरकारलाई हरेका वर्ष कर तथा विविध शुल्कहरु तिर्दै आएको छ ।
हालसम्म, एनसेलले कर तथा शुल्कमार्फत ३४० अर्ब रुपैयाँभन्दा बढी सरकारलाई तिरिसकेको छ, जसले नेपालका ठूला करदाताको आफ्नो भूमिका झल्काउँछ । आजको दिनमा, उच्च गतिको ब्रोडब्यान्डसहितका मोबाइल सेवाहरू आवश्यकताका रुपमा रूपान्तरण भइसकेका छन्, जसले आम मानिसदेखि व्यवसायहरू र समुदायहरूलाई सशक्त बनाउँदै आएको छ ।
आधुनिक युगमा, व्यवसायहरूले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् । एनसेलका लागि व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र दिगोपन केवल कानूनी बाध्यता मात्र होइन, यसको पहिचानको अभिन्न हिस्सा हो ।
प्रभावकारी सामाजिक पहलमार्फत सामुदायलाई जोड्दै
एनसेल फाउन्डेसनले कम्पनीका सबै सामाजिक पहलहरूलाई एउटै छातामुनि समेट्दै समन्वय गरि प्रभावकारी परिणाम र सरोकारवालासँग बलियो साझेदारी गर्न सक्षम बनाउँछ । व्यवसायिक सामाजिक जिम्मेवारीलाई अझै सशक्त बनाउँदै आर्थिक सामाजिक विकासमा योगदान पुर्याउनका लागि बोर्डका अध्यक्ष सतिशलाल आचार्यको मार्गनिर्देशन बमोजिम गतवर्ष आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले एनसेल फाउन्डेसन स्थापना भएको घोषणा गरको थियो ।
फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ । यसले स्वास्थ्य, शिक्षा, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायतका क्षेत्रमा औद्योगिक व्यावसाय ऐन र नियमावलीले तोके बमोजिम काम गर्दै आएको छ ।
हाल ‘नाइन्टिन फर नाइन्टिन’ अभियान अन्तर्गत ७ वटै प्रदेशमा १९ परियोजना कार्यान्वयन गर्दैछौं, एनसेलले अबको पाँच वर्षमा २० करोड रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ । ऐन र नियमावलीले तोकेको क्षेत्रभित्र रही फाउन्डेसनले कला, साहित्य, संस्कृति र ऐतिहासिक संपदाको संरक्षणमा पनि योगदान पुर्याउँदै आएको छ । कार्तिक नाच, रातोमछिन्द्र नाथको जात्रा, नेपाल लिटरेचर फेस्टिभल यसका केही उदाहरण हुन् ।
स्वास्थ्य क्षेत्रमा एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन एन्ड हेल्थ इनफरमेटिक्स् प्रोजेक्ट सञ्चालन गर्दै विकट भेगका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, नुवाकोट, र काभ्रेमा स्थापित अस्पतालका चार स्वास्थ्य केन्द्रहरूले १ लाखभन्दा बढी स्थानीयहरुलाई फाइदा पुर्याएको छ । स्वास्थ्यकै क्षेत्रमा एनसेलले दादुरा र रुबेला खोप, डेङ्गी सचेतना, मिर्गी रोग सचेतनाका कार्यक्रमहरु संचालन गरेको छ ।
एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्राविधिक शिक्षा र सिकाईको माध्यमलाई प्रोत्साहन गर्दै एनसेलले देशभरका ६० वटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ३० हजार भन्दा बढि विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुनेगरी आधुनिक डिजिटल ल्याबहरु बनाएर संचालनमा ल्याएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ एनसेलले शैक्षिक सामग्री वितरण पहलअन्तर्गत ७ वटै प्रदेशका ५,००० भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुनेगरी शैक्षिक सामग्रहरु वितरण गरिसकेको छ र यो अझै व्यापक रुपमा विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।
यसरी नै शिक्षामा निरन्तर १० वर्षसम्म ईन्जिनियरिङ्ग अध्ययन संस्थान केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
राम्रो नतिजाका साथ उतीर्ण तर आर्थिक अवस्था कमजोर भएका कारण थप अध्ययनका लागि समस्यामा परेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय र ५० भन्दा बढि वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ । जसबाट २५ हजार भन्दाबढी विद्यार्थीले प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । कम्पनीले देशका युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै कला र साहित्य, र ऐतिहासिक संपदाको संरक्षणमा पनि योगदान पुर्याएको छ ।
२०७२ सालको भूकम्पपश्चात्, एनसेलले १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा योगदान गर्नुका साथै १.६ अर्ब रुपैयाँको दूरसञ्चार सेवा निःशुल्क प्रदान ग¥यो । यस्तै, गत वर्षको कर्णाली प्रदेशको भूकम्पमा प्रभावित जिल्लाका ग्राहकहलाई ४० लाखको सेवाहरु निःशुल्क प्रदान गर्नुका साथै पीडितहरूको उद्धार, उपचार र राहतका लागि सहयोग स्वरूप कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
त्यसैगरी कोभिड–१९ महामारीको बेलामा, एनसेलले नेपाल सरकारलाई पीपीई र पीसीआर किट खरिद गर्न १० करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो । साथै, प्रभावित समुदायहरूलाई आवश्यक स्वास्थ्य सामग्री तथा जनचेतना अभिवृद्धिमा योगदान पुर्यायो।
गतवर्ष को वर्ष र बाढीको विनाशमा पनि एनसेल फाउन्डेसन विपद् व्यवस्थापन तथा प्रतिकार्यका कामहरुमा सक्रिय रूपमा संलग्न भयो । बाढी र पहिरोपछिको समयमा फाउन्डेसनले १,००० भन्दा बढी प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गर्यो । यी प्रयासहरूले आपतकालीन अवस्थाहरूमा समुदायहरूलाई सहयोग गरेर एनसेलले तत्परता र भरपर्दो कर्पोरेट नागरिकको रूपमा आफ्नो भूमिकालाई अझ सुदृढ बनाएको छ ।
विभिन्न सामाजिक परियोजनामार्फत देश र समुदायप्रति गरेको योगदानको सम्मान स्वरूप, एनसेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरेको छ । यसमा डीआरआरएम एन्ड बीसीएम अवार्ड, ग्लोबल मोबाइल अवार्ड, वल्र्ड कम्युनिकेशन अवार्ड, एसोसीओ अवार्ड, र विस्टा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्डजस्ता सम्मानहरू समावेश छन् । यी सम्मानहरूले समुदायसम्म पुगेर सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न एनसेलले लगभग दुई दशकदेखि देखाएको प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दछ । एनसेलको ध्यान आम नेपालीलाई केवल दूरसञ्चार सेवामार्फत मात्र नभई अर्थपूर्ण र प्रभावकारी सामाजिक पहलहरूमार्फत पनि जोड्नमा केन्द्रित रहेको छ ।
सामाजिक उत्तरदायित्व र दिगोपनको प्रतिबद्धता
एनसेलको सामाजिक उत्तरदायित्व केवल कानुनको पालनामा मात्र सिमित छैन । यो समुदायलाई सशक्त बनाउन, नवीनता प्रवद्र्धन गर्न र सामाजिक आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धताको अभिव्यक्ति हो । प्रत्येक वर्ष एनसेलले व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा योगदान पुर्याउन औद्योगिक व्यावसाय ऐन र औद्योगिक व्यावसाय नियमावलीको परिपालन गर्दै आफ्नो खुद नाफाको १ प्रतिशत छुटाउँदै आएको छ । स्थापना कालदेखि हालसम्म एनसेलले विभिन्न सामाजिक परियोजनाहरूमा २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाख भन्दाबढि नेपालीहरूलाई फाइदा पु¥याएको छ ।
सन् २०२० मा लागू भएको औद्योगिक व्यावसाय ऐन र सन् २०२२ मा लागू भएको औद्योगिक व्यावसाय नियमावलीभन्दा धेरै अगाडि देखि नै एनसेलले सामाजिक पहललाई आफ्नो प्राथमिकता बनाई काम गर्दै आएको छ । सीएसआर कानुनी रुपमा बाध्यात्मक हुनु भन्दा पहिला नै ‘एडप्ट ए स्कूल’, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार’ र ‘एनसेल एप क्याम्प’ गरिएका थिए । त्यसैगरी ‘वी केयर’ पहलअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई प्रदान गरिएको सहयोगजस्ता स्वास्थ्यसम्बन्धी परियोजनाहरूले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार गर्न योगदान गरेको छ ।
एनसेलले वातावरणय संरक्षणप्रति बलियो प्रतिबद्धता पनि देखाएको छ । धनुषाधाम, जनकपुरमा गरिएको वृक्षारोपणजस्ता पहलहरूले पारिस्थितिक सन्तुलन सुधार गर्न कम्पनीले गरेको प्रयासलाई झल्काउँछ । त्यसैगरी, काठमाडौं रिङ रोडको हरियाली परियोजनाले कोटेश्वर–कलङ्की सडक खण्डको १०.२ किलोमिटरलाई हरियाली बनाएको छ जसले शहरी सौन्दर्यीकरण र वातावरणीय दिगोपनमा योगदान पु¥याएको छ ।
एनसेलको सामाजिक कार्यहरुमा समावेशिता सुनिश्चित गर्दै एनसेलले राष्ट्रिय प्यारालिम्पिक समितिसँग साझेदारी पनि गरेको छ, जसअन्तर्गत नेपालका प्यारा खेलाडीहरूको तालिम तथा विकासमा सहयोग गर्दै आएका छ । यस पहलमार्फत, नेपाली प्यारा खेलाडीहरूलाई नियमित तालिममार्फत सशक्त बनाउने, उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्ने र तिनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सक्षम बनाउने लक्ष्य रहेको छ ।
गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
भावी योजना
आफ्ना सामाजिक पहलहरूलाई निरन्तरता दिँदै, एनसेल आफ्ना सीएसआर परियोजनाहरू विस्तार गर्न र ठोस नतिजा प्रदान गर्न प्रतिबद्ध छ । एनसेल फाउन्डेसनमार्फत, कम्पनीले महत्वपूर्ण सामाजिक मुद्दाहरू समाधान गर्न, साझेदारीहरू मजबुत बनाउन र नेपालको प्रगतिको लागि योगदान गर्ने लक्ष्य राखेको छ । उदाहरणका लागि, आधुनिक डिजिटल ल्याब परियोजना रहेको छ्, जसले धेरै विद्यार्थीहरूलाई पहिलो पटक कम्प्युटर प्रयोग गर्ने अवसर प्रदान गरेको छ । त्यसैगरी, जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले एसएमएसमार्फत समयमै बाढीको जोखिमको सूचना प्रदान गरी जनधन बचाउन सहयोग पु¥याएको छ ।
एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने थिमले वर्तमान र भविष्यका लागि समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई प्रष्टाउँछ । एनसेलले व्यवसायिक सफलता मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिदै आएको छ । व्यवसायिक तथा सामाजिक साझेदारीद्वारा नेपाललाई समृद्ध बनाउन एनसेल फाउन्डेसनले भविष्यमा पनि निरन्तर योगदान पु¥याउन प्रतिबद्ध रहेको छ ।
हाल संचालनमा रहेको ‘नाइन्टिन फर नाइन्टिन’ पहलमार्फत १९ सामाजिक परियोजनाहरू कार्यन्वयन हुँदै छन् । प्रत्येक परियोजनालाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेर सामुदाय स्तरमा अर्थपूर्ण परिवर्तन ल्याउने काम गर्ने योजना रहेको छ । बहुवर्षीय परिवर्तनकारी परियोजनादेखि साना साना पहलहरूसम्म, एनसेलले नेपालमा सीएसआरका लागि नयाँ मापदण्ड स्थापित गरेको छ । समुदायस्तरका चुनौतीहरूको समाधान गर्दै र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै, एनसेल आशा र प्रगतिको प्रतीक बन्ने लक्ष्य सहित अघि बढिरहेको छ । अझ सशक्त, समावेशी, र दिगो समाज निर्माणका लागि हामी सबै एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक छ ।
(लेखक खड्का एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर हुन्)
प्रतिक्रिया दिनुहोस्