images
images
  • बारा-२ मा आज सत्ता गठबन्धन र एमालेले बृहत चुनावी आमसभा गर्दै

    काठमाडौं- आगामी १० गते बारा-२ मा हुने उपनिर्वाचनको प्रचारप्रसारका लागि सत्तारूढ दल र प्रतिपक्षी एमालेले बृहत् आमसभाको आयोजना गरेको छन् ।

    सत्तारूढ र प्रतिपक्षी दलले बारामा आज (बिहीबार) एकैदिन छुट्टाछुट्टै स्थानमा आमसभाको आयोजना गरेका हुन् ।

    आजै राति १२ बजेदेखि उपनिर्वाचन मौनअवधि शुरु हुने भएकोले त्यस अगावै सत्तारूढ र एमालेले चुनावी आमसभाको आयोजना गरिएको छ । उक्त आमसभामा दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    सत्तारूढ दलका साझा उम्मेदवार बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव छन् भने एमालेका पुरुषोत्तम पौडेल छन् ।

    सत्ता गठबन्धनले गढीमाई र एमालेले नेपाल–भारत सीमा क्षेत्रनजिकै पर्ने पचरौतामा आमसभा गर्न लागेका हुन्। सत्तारुढ गठबन्धनले बिहान ११ बजे र एमालेले दिउँसो १ बजे सभा सुरु गर्ने तयारी गरिरहेका छन्।

    सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    त्यसैगरी एमालेले पचरौटामा आयोजना गर्ने चुनावी सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता एवं बारा २ का उम्मेदवार पुरुषोत्तम पौडेलले जानकारी दिए।

    बारा २ मा उपेन्द्र यादवलाई विजयी गराउन सत्तारुढ गठबन्धनले सबै शक्ति परिचालन गरेको छ। चुनावको नतिजा आफ्ना पक्षमा पार्न सत्ता गठबन्धनका वरिष्ठ नेताहरुले दुई साता अघिदेखि नै बारा आएर उपेन्द्रका पक्षमा मत मागिरहेका छन्।

    जसपासहित सत्ता गठबन्धनका दलले बारा २ मा उपेन्द्र यादवको जितलाई जीवन–मरणको सवाल बनाएका छन्। तर, भर्खरै माओवादी केन्द्र छाडेर जनमत पार्टीका उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा यादवको विजय यात्रामा तगारो बन्न सक्ने अनुमान मतदाताले गरिरहेका छन्।

    कुशवाहालाई विजयी बनाउन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आफैँ दिनरात निर्वाचन प्रचारमा खटिएका छन्।

    बारा २ मा मुख्य रुपमा जसपाका यादव र जनमतका कुशवाहाबीच नै प्रतिस्पर्धा हुने अनुमान छ। एमालेका उम्मेदवार पौडेल र रास्वपाका उम्मेदवार रमेश खरेल पनि चुनावमा आफ्नो जित सुनिश्चित रहेको प्रचार गर्दै निर्वाचन अभियानमा होमिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images