images
images
  • आईपीएलको १६औं संस्करण आजदेखि सुरु, पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने

    काठमाडौं- विश्वकै चर्चित र धेरै फलो गरिने क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ ।

    अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    यस खेलअघि उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन्

    गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् । जसमा ७४ खेल हुनेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।

    यस्ता छन् २०२३ का नयाँ नियम
    १६औं सिजनका लागि बीसीसीआईले नयाँ नियम समेत लागु गर्दैछ । जसमा इम्प्याक्ट प्लेअर रुल पनि छ । आईपीएलको इतिहासमै यस पटक केही परिवर्तन देखिनेछ ।

    नयाँ सिजनमा टस अघि दुई टिमका कप्तानले दुई फरक टिमको लिस्ट लैजान सक्नेछ र टस गरेपछि आफ्नो अन्तिम ११ जनाको सूची बुझाउन पाउनेछ ।टसको नतिजा अनुसार टिमले आफ्ना उत्कृष्ट ११ खेलाडी छान्न सक्नेछ । गत सिजनसम्म भने कप्तानले टस अघि नै टिम सूची एकापसमा साट्नुपर्ने थियो ।

    यसअघि जस्तो ‘टस जित र खेल जित’ भन्ने नारामा बीसीसीआईले नयाँ नियम लागु गर्न लागेको हो । जसले गर्दा खेलमा अझ रोमाञ्चकता आउने अपेक्षा छ ।नयाँ सिजनको आईपीएलमा हरेक इनिङ्समा दुई पटक डीआरएस लिन पाउनेछन् । यस्तै खेलाडीले वाइड र नो बलका लागि पनि रिभ्यु गर्न पाउनेछन् । क्याचआउट भएपछि नयाँ ब्याटरले स्ट्राइक लिनेछन् ।

    यदि कोभिड १९ का कारण टिमले पहिलो रोजाइको टिम समेत उतार्न नसकेमा बीसीसीआईले खेललाई पुनः खेलाउने प्रयास गर्नेछ । यदि पुनः खेलाउन नसकिएमा आईपीएलको टेक्निकल टिमले त्यसलाई ह्यान्डल गर्नेछ । यदि प्लेअफ र फाइनलमा सुपर ओभरपछि पनि नतिजा नआएमा लिगमा उच्च स्थानमा रहने ६ टिमलाई विजेता घोषित गरिनेछ ।

    के हो इम्प्याक्ट प्लेअर रुल ?
    आईपीएलमा यस सिजनदेखि इम्प्याक्ट प्लेअर रुल लागु गर्न लागिएको छ । इम्प्याक्स प्लेअर भारतीय खेलाडी मात्र हुन सक्छन् । किनभने एक टिमले पहिलो रोजाईमा चार विदेशी खेलाउन पाउँछन् र अधिकांशले पहिलो रोजाईमै विदेशी खेलाडीको कोटा खेलाइसक्छन् ।टिम सिट राखिएको चार सब्सिच्युट खेलाडीमा विदेशी खेलाडी भएमा मात्र विदेशी खेलाडी इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ ।

    हरेक टिमले टसको समयमा पहिलो रोजाईसँगै चार सब्सिच्युट खेलाडीको नाम पनि बुझाउनुपर्नेछ र त्यसमध्ये एक खेलाडी मात्र इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ । इम्प्याक्ट खेलाडीको चयन कप्तानले गर्नेछन् ।इम्प्याक्ट प्लेअर इनिङ्सको अघि वा ओभर सकिएपछि वा विकेट गएपछि वा ओभर चलिरहेको बेला कुनै ब्याटर रिटायर भएमा प्रयोग गर्न पाउनेछ ।

    इम्प्याक्ट प्लेअर रिप्लेस गरेको खेलाडी, जसलाई ‘रिप्लेस्ड प्लेअर’ भनिन्छ, खेलको बाँकी समयमा भाग लिन पाउँदैन र वैकल्पिक फिल्डरको रुपमा समेत मैदान फर्कन पाउँदैन ।

    बीसीसीआईले इम्प्याक्ट प्लेअरले कप्तानको रुपमा भूमिका निर्वाह गर्न नपाउने निर्णय गरेको छ । खेलमा उत्रिएको दुवै टिमले एक खेलमा एक मात्र इम्प्याक्ट प्लेअर प्रयोग गर्न पाउनेछन् । तर यो अनिवार्य भने छैन ।यदि कुनै खेलाडी खेलको दौरान घाइते भएमा र उसलाई इम्प्याक्ट प्लेअरले रिप्लेस गरेमा घाइते खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images