images
images
  • १० तिब्बतीलाई नेपाली नागरिकता दिएको आरोपमा ५ जना पक्राउ

    काठमाडौं- तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार यो समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको छ ।

    पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन्। त्यसैगरी कटुवालसँगै न्युतकेश श्रेष्ठ र विजय लामा पक्राउ परेका छन्। उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काडमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ।

    लामा ९ वर्ष अघिदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको खुलेको छ। उनैले जिल्ला प्रशासनमा मिलाउनुपर्ने कामको जिम्मा लिने गरेका थिए। उनले भित्र मिलाउनुपर्ने भन्दै कटुवालसँग एउटा नागरिकता बराबर १ लाख ५० हजारसम्म लिने गरेको पाइएको छ।

    त्यसैगरी पक्राउ पर्नेमा एकजना तिब्बतीयन शरणार्थी पनि छन्। लोब्साङ ठिन्ले नाम गरेका उनी तिब्बतीय शरणार्थी क्याम्पमै बस्छन्।

    उनले यही फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठिन्ले गुरुङको नामबाट काठमाडौं महानगरपालिका १७ स्थायी ठेगाना राखेर २७–०१–७१–१५९०१ को नागरिकता नै लिएको खुलेको छ। प्रहरीले नागरिकता लिएका २५/३० जनाको सक्कलै नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ।

    पक्राउ परेका कटुवाल यसअघि पनि कीर्ते र ठगीमा सजाय पाएर छुटेका व्यक्ति रहेको खुलेको छ। उनले ५/६ वर्षको अवधिमा ५ सयभन्दा धेरै व्यक्तिलाई नागरिकता दिलाइसकेको कुरा प्रहरीले पत्ता लगाएको छ। यो घटनामा अन्य ५ व्यक्तिको पनि संलग्नता पाइएपछि उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

    अर्का पक्राउ परेका नेपाली नागरिक न्युत्केश श्रेष्ठ र कटुवालले पिङछुङ शेर्पा नामकको नक्कली नगारिकता बनाइ प्रति पटक १० हजार भाडामा दिई बुवाको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर सनाखत गर्ने गरेको पनि पत्ता लागेको छ।

    श्रेष्ठले हालसम्म तिब्बतीयन शरणार्थीहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागरकिता बनाउन नक्कली बुबा बनेर सहयोग गरेको खुलेको छ। उता कटुवालले तिब्बतीलाई नेपाली नागरिकता दिलाउँदा प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएको पाइएको छ।

    यो प्रकरणमा गैरनेपालीलाई नेपाली तिब्बतीय शरणार्थीलाई सक्कली नागरिकता दिलाउने कार्यक्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images