काठमाडौं- आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको हो । आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो ।
खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाए । युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो । यसअघि लिग–२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।
त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा स्पेलमा २ मेडन राख्दै उनले १९ रन खर्चिएका हुन् । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर २७ रन दिए ।
बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।


विश्व खबर 


















