images
images
  • पीएनजी ९५ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट

    काठमाडौं- सन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ ।

    स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।

    पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।

    अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराएपछि पीएनजी १७(२ को स्थितीमा पुग्यो ।

    कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर २०औं ओभरमा सन्दीप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउदै ३२ रनको साझेदारी तोडे ।

    त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे । त्यसपछि पीएनजीले लगातार विकेट गुमायो ।

    सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए ।

    नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए । भानुअले खातासमेत खोलेनन् । सन्दीपले हिला भारेलाई ७ रनमै बोल्ड गरे ।

    त्यसपछि कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए ।

    पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

    ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images