काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।
नेपाललका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ८३ बलमा सात चौकासहित ५० रन पूरा गरेका हुन्।
दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको थियो। कुशल १५ बलमा आठ रन जोडेर आयान अफ्जल खानको बलमा एलबीडब्यूलको शिकार भएका थिए।
अर्का ओपनर आसिफ शेख पाँच बल खेलेर शून्यमा पेभेलियन फर्केका थिए। आर्यन लाक्राको बलमा बोल्ड हुँदै आसिफ पेभेलियन फर्केका हुन्। यस्तै,कुशल मल्ल सातौं ओभरमा ९ रन जोडेर पेभेलियन फर्किँदा नेपाल कठिन अवस्थामा पुगिसकेको थियो।
तर,कप्तान रोहित र भीम सार्कीले रोहितसँग ५४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए।
भीम २२औं ओभरमा २९ रन जोडेर पभिलियन फर्किसकेका छन्। अहिले क्रिजमा रोहित ५५ तथा आरिफ शेख १६ रन बनाएर खेलिरहेका छन्। नेपालले ३० ओभर सकिँदा चार विकेट गुमाएर एक सय २५ रन बनाएको छ।
आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देशाईले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीको स्थानमा ललित राजवंशी र गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाल्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने निश्चित हुनेछ।
यस्तै, लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राख्ने छ। आजको खेलमा पराजित भए सोझै ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त हुनेछ।
आज यूएई पराजित भयो भने एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै कायम रहने छ।


विश्व खबर 


















