काठमाडौं- नेकपा माओवादी केन्द्रले उप–राष्ट्रपति फरक समुदायको महिला हुनुपर्ने सुझाव अघि सारेको छ । पार्टीका महासचिव देवप्रसाद गुरुले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक रुपले पनि फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।
उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउँदै भने, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’
आज (शुक्रवार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकमा उक्त धारणा राखिएको गुरुङले जानकारी दिए ।
बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहीता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने समेत बताए ।






















