images
images
  • आसिफ र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित

    काठमाडौं- ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।
    बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो ।

    पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए ।

    तर पीएनजीको इनिङ्स भने नेपाली स्पीनले ध्वस्त बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पूरै १० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिए । कप्तान रोहितले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र खर्चे ।

    पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए ।

    जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग टू मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।

    यसअघि पहिला ब्याटिङ गरेको नेपाललाई अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

    अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्कीले ४४ रन जोडे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images