images
images
  • विश्वकप लिग-२ : घरेलु टोलीसँग नेपालको अन्तिम भिडन्त

    काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ रोजेका हुन् । बिहान ११ : ४५ बजेदेखि खेल सुरु भएको छ। यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ ।

    लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन । त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ । नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको छ । नेपाल यूएईसँगै पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो । ६८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल जितका साथ यूएई भ्रमण टुंग्याउने लक्ष्यमा छ ।

    टिमले यूएईसँगको खेलअघि दुई दिन आराम गरेको छ । पछिल्लो खेल नेपालले गत शुक्रबार पीएनजीसँग खेलेको थियो । शनिबार र आइतबार टिम अभ्यासमा गएन । पीएनजीसँगका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

    यूएईलाई हराए अंक तालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

    नेपालको ३१ खेलबाट ३० अंक छ । यूएईमाथि जित हात पारे नेपाल तालिकाको पाँचौं स्थानमा उक्लनेछ । ओपनर कुशल भुर्तेलले आजको खेल गुमाउनेछन् । उनको ग्रोइङमा चोट लागेको छ । कुशललाई सन्दीप जोराले प्रतिस्थापन गर्नेछन् ।

    यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी पाँचमध्ये तीन खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images