images
images
  • नेपालले आज यूएईसँग महत्वपुर्ण खेल खेल्दै, सन्दीप पनि खेल्ने

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

    नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।

    यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

    लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।
    हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ ।
    त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ

    नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।

    नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन ।

    गत मार्चमा यूएईमै भएको लिग टु को दुवै खेलमा नेपाल पराजित भएको थियो । कम लक्ष्य पछ्याउँदा पनि नेपाल यूएईविरुद्ध पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
    नेपालले यूएईसँग पछिल्लो पटक घरेलु मैदान कीर्तिपुरमै तीन खेलको ओडीआई शृङ्खला खेल्दै २–१ ले जितेको थियो ।

    पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृङ्खला कब्जा गरेको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो ।

    समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images