images
images
  • क्रिकेट विश्वकप लिग-२: नेपालको लगातार ५ जितको कीर्तिमान

    काठमाडौं- नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ । नेपालले यूएईमा क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको विजय हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।

    पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आरिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।

    यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।

    नेपालले लिग–२ मा लगातार पाँचौँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितको कीर्तिमान बनाएको छ । यसअघि घरेलु मैदानमा भएको भएको खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएको थियो । यो जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाको पुछारमा छ ।

    घरेलु मैदानमा लिग २ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी ४ खेल जित्दै क्लिन स्विप गरेको नेपालले त्यो फर्मलाई बलिङ र ब्याटिङबाट कायमै राख्दै जितलाई निरन्तरता दिएको छ । त्यसको विपरीत लिग–२ को पुछारमा रहेको पपुवा न्यु गिनीले पछिल्ला ६ खेल नै हारेको छ । टोलीले लिग–२ का २९ खेलमा २ मा मात्र विजय हात पार्न सकेको छ ।

    नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो ।

    नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग–२ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।

    यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेलेपछि लगत्तै काठमाडौं आएर यही दुई टोलीसँग थप २–२ खेल खेल्दै लिग–२ को यात्रा टुंगाउने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images