काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गरेका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गद आफूहरूका बिचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ ।
अध्यक्ष नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए।
उनले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । ‘नेपालमा जस्तो किसिमको चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ, सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि प¥यो’ उनले भने, ‘देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरू एक भएर जानुपर्छ । सङ्कटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो ।’
वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आव्हान गरिरहेको भन्दै उनले आफूहरू एजेण्डा मिल्नेहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए ।
नेपालले सबै कुरा मिल्नेहरूसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।






















