काठमाडौं- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक फागुन १७ गते बस्ने भएको छ। एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्यहरूलाई पत्राचार गर्दै आगामी बुधबार कार्यसमिति बैठक बोलाएका हुन्।
बुधबार बिहान आठ बजे बोलाइएको बैठकमा विविधसहित १९ वटा एजेन्डा तय गरिएको छ। यद्यपि, कसैले एजेन्डा थप्न चाहे यसमा घटबढ हुने सम्भावना छ।
महासचिव राईले पत्राचार गरेका एजेन्डामा अन्तर्राष्ट्रिय थ्रीनेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट प्रतियोगिता, ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी चार वर्षको योजना लगायत विषय समावेश छन्।
यस्तै, सहिद स्मारक बी र सी डिभिजन लिग, जिल्ला लिग, यस वर्षको महिला लिग, विद्यालय स्तरीय महिला र पुरुष उमेर समूहका प्रतियोगिता र कर्मचारी नियुक्ती पनि समावेश छन्। बैठकमा महिला र फुटसल फ्रेन्चाइज प्रतियोगिता, महिला एकेडेमी, प्रदेश संघको अधिवेशन, फुटसल लिग, नेपाल सुपर लिगका लागि समय उपलब्ध गारउने, राष्ट्रिय टिम र संघलाई आवश्यक खेलकुद सामग्री, प्रायोजन र खरिद, विभिन्न देशमा संघको समन्वय समिति गठन स्थायी समिति तथा अन्य आवश्यक समिति, आपतकालिन समिति, सीईओ, सहायक महासचिव लगायत कर्मचारी–पदाधिकारी नियुक्ती र विविध विषय एजेन्डामा उल्लेख छ।


विश्व खबर 


















