काठमाडौं- अलराउन्डर कुशल मल्लले नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् ।
कीर्तिपुरका जारी खेलको १८ औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका छन्। एक दिवसीय सिरिजमा कुशलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले डेब्यु खेलका क्रममा अमेरिकाविरुद्ध अर्धशतक हानेका थिए।
कुशल ४२ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनमा अविजित छन् ।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी २० र कुशल मल्ल ५२ रन बनाएर खेलिरहेका छन्।
ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४ र कप्तान रोहित पौडेल ६ रनमा आउट भए।
दीपेन्द्रसिंह ऐरी २० रनमा क्रिजमा छन् । नेपालले तेस्रो ओभरमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल दुबैलाई गुमाएपछि लगातार खराब प्रदर्शन गरेको थियो । तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भएका थिए ।
कुशल भुर्तेलले ८ बलमा ४ चौका हाने । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।
कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक हो ।


विश्व खबर 


















