काठमाडौं- नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवेशनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनौट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
उनका अनुसार देशभरबाट १ हजार ५ सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन् । उपत्यकामा रहेका प्रतिनिधिको व्यवस्था आफैँ र उपत्यकाबाहिर भएका प्रतिनिधिको व्यवस्थापन होटलमा गरिएको छ ।
आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौँमा हुनेछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
अनेरास्ववियुको यसअघि २०७२ सालमा २२औँ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाधिवेशन सम्पन्न गर्नका लागि अखिलका अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५-१५ सदस्यीय कमिटी गठन गर्नेछ । यस्तै एमालेको महाधिवेशन हुन बाँकी रहेका अन्य जनवर्गीय सङ्गठनको पनि मिति तोकिएको छ ।
एमालेका अनेरास्ववियुसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेसागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ ।
प्यानल र गुट बनाउन निषेध
आगामी २, ३ र ४ फागुनमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ । यसअघिका महाधिवेशनमा नेतानिकटका प्यानल बनाएर विद्यार्थी चुनावी मैदानमा उत्रिने गरेका थिए ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियु इन्चार्ज माधव ढुंगेलले यतिवेला पार्टीमा फरक धार नभएकाले अनावश्यक गुटबन्दी गरेर समय खेर फाल्न नहुने बताए । विद्यार्थी संगठनका मुद्दामा एकीकृत गर्ने, विद्यार्थीका पक्षमा काम गर्ने गरी तयार हुनुपर्ने उनको भनाइ छ । एउटा पदमा जतिजनाले पनि प्रतिस्पर्धा भने गर्न सक्ने ढुंगेलले बताए । विद्यार्थीबीच लोकप्रियले चुनाव जितेर संगठनको नेतृत्व गर्ने र जसले विजय प्राप्त गर्न सक्दैन वा प्रतिस्पर्धामा सहभागी नभई बिदाइ हुनेलाई पार्टीले राम्रोसँग व्यवस्थापन गर्ने उनको भनाइ छ ।
आगामी महाधिवेशनबाट अनेरास्ववियुको कार्यसमिति सानो हुँदै छ । यसअघि भएको विधान अधिवेशनले कार्यसमिति १९९ सदस्यीय हुने व्यवस्था गरेको छ ।
अहिले ५१७ जनाको कार्यसमिति छ । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १९९ जनाको कार्यसमिति रहनेछ ।






















