images
images
  • माओवादीको संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

    काठमाडौं- नेकपा माओवादी केन्द्रले पुरानै कार्य विभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।

    वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

    २०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

    ४ कातिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवा।री जनार्दन शर्माले सम्हाल्दै आएका छन् । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आएका थिए । जसलाई स्थायी समितिले वैधानिकता दिएको हो।

    सोही अनुसार स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले संगठन विभाग प्रमुखको हैसियतमा संगठन सम्बन्धि प्रस्तावसहितको रिपोर्टिङ गरेका थिए । अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले स्कूलिङ् विभागका प्रमुखको हैसियतमा स्कूल विभागले तयार पारेको पाठ्यक्रम लगायतका विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए ।

    स्थायीदेखि वैकल्पिक केन्द्रीय समितिसम्मलाई पूर्णता
    माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो ।

    माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।
    यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।

    हेर्नुुस् सूूची

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/02/mao-list.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images