कञ्चनपुर- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा प्रतिकृया दिएकी छन्।
सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले कैलाली क्षेत्र नं.२ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विरोध गरेकी छन्।
उनले फेसबुकमा लेखेकी छिन्, ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ ।’
सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद भुक्तान नगरेर फरार थिए। उनलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उक्त पार्टीले रेशम चौधरीलगायतलाई रिहा नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएको छ ।






















