images
images
  • सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

    काठमाडौं- बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चार वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको जानकारी दिए ।

    छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

    बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रवार मात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए ।

    नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

    जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवामात्र गरेन राष्ट्रिय टिममै समावेश गरेको छ ।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images