images
images
  • रविले पाए पुनः नागरिकता, आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

    काठमाडौं- रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

    ‘उहाँ (रवि लामिछाने)ले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

    लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै १३ माघ (गत शुक्रबार) सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

    ढकालले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

    नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

    सर्वोच्चको सोआदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images