काठमाडौं- क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।
स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
त्यस्तै बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई काठमाडौं पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो ।
मेहबुब टी–२० लिगताका फिक्सिङको समाचार बाहिरिएलगत्तै भारत गएको चर्चा थियो । आदिल अन्सारीलाई कमेन्टेटर सचिन तिमिल्सिनाले फिक्सिङबारे सामाजिक सञ्जालमा लाइभ भिडिओमा बताउँदै नेपाली अलराउण्डर भनेर संकेत गरेका थिए ।
त्रिविमा क्रिकेट मैदानमा भएको नेपाल लिगमा म्याच फिक्सिङको सूचना बाहिर आएपछि सीआईबीले छानबिन गरेको थियो।
नेपाल टी २० लिग चलिरहेका बेला खेलाडीहरुले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको छ।
यो कम्पनीले भारतमा बेटिङ समेत खेलाउने गरेको छ। त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका थिए। त्यसपछि खेलाडीकेन्द्रित अनुसन्धान सुरु भएको हो।
यसअघि म्याच फिक्सिङको चर्चा बाहिरिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरिएको थियो।


विश्व खबर 


















