images
images
  • ए डिभिजन लिग: पहिलो खेलमा फ्रेन्ड्स र खुमलटार युथ क्लब भिड्ने

    काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको पहिलो खेल ललितपुरका दुई क्लबहरु फ्रेण्ड्स र एफसी खुमलटारबीच हुने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार एक कार्यक्रमका बीच खेलतालिका निर्धारण गरिएको हो । ए डिभिजन लिगका खेलहरु च्यासल मैदान र दशरथ रंगशालामा खेलाइनेछ । पुनर्निर्माण गरिएसँगै पहिलोपल्ट च्यासलमा ए डिभिजन लिगका खेलहरु सन्चालन गर्न लागिएको हो । लिगका खेल दिउँसो साढे २ र साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।

    ए डिभिजनको नवप्रवेशी खुमलटारले फागुन १९ गते लिगको पहिलो दिन साँझ साढे ५ बजे फ्रेण्डससँगको खेलबाट आफ्नो पहिलो सिजन सुरु गर्दैछ । गत सिजन बी डिभिजनबाट चर्च ब्वाइज र खुमलटार क्रमसः विजेता र उपविजेताका रुपमा ए डिभिजनमा उक्लिएका थिए ।

    लिगको दोस्रो दिन फागुन २० गते ३ खेल हुनेछन् । नेपाल पुलिसले नवप्रवेशी चर्च ब्वाइजसँग च्यासल रंगशालामा खेल्नेछ भने एपीएफ र थ्रीस्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । सोही दिनको तेस्रो खेल दशरथ रंगशालामा मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच हुनेछ ।

    फागुन २१ गते पनि तीन खेल हुनेछन् । च्यासल मैदानमा न्युरोड टिम ९एनआरटी० र सातदोवाटो युथ क्लबबीच खेल हुनेछ । सोही समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र संकटाबीच खेल हुनेछ । दिनको तेस्रो खेल लिगको साविक विजेता मछिन्द्र र जावालाखेलबीच हुनेछ ।

    एन्फाले सुरुवाती पाँच चरणसम्मको तालिका सार्वजनिक गरेको छ । एन्फाले यसपल्ट ए डिभिजन लिग डवल राउण्ड रोविन फर्म्याटमा आयोजना गर्ने भनेको छ । यसअघि पुस २६ गतेका लागि निर्धारण गरिएको लिग क्लबसँगको सहमतिमा करिव २ महिना सारेर फागुन १९ पुर्याइएको हो ।

    ए डिभिजन लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images