images
images
  • यती एयर विमानका क्याप्टेन कमल केसीलाई ३१ वर्षको अनुभव थियो !

    काठमाडौं- आज माघ १ गते माघे सङ्क्रान्तिका दिन आइतबार काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको विमानको क्याप्टेन कमल केसी थिए ।

    दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घटनामा परेको हो ।बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेको यती एयरको जहाजमा तीन शिशु र ६ बालबालिका सवार थिए । यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।

    जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । तीमध्ये १० जना विदेशी यात्रु थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन ९ एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

    १०ः३० को उडान भर्न यती एयरलाइन्सका पाइलट कमल केसी बिहान ९ बजे नै घरबाट निस्किएका थिए । घरमा बिदा भएर निस्किने वेला कान्छा छोरा र श्रीमती शिलुलाई भने भनेका थिए– रिटर्न उडान छिट्टै छ, चाँडै नै घर आइपुग्छु । तर, उनको वचन अधुरै बन्यो ।

    पोखरामै जन्मिएका कमलका श्रीमती र कान्छा छोरा काठमाडौंको बुढानीलकण्ठ इटालीटारस्थित घरमा बस्छन् । जेठा छोरा बैंककमा छन् । श्रीमान् दुर्घटनामा परेको खबरले श्रीमती शिलु विक्षिप्त छिन् । उनलाई छिमेकीले सम्हालिरहेका छन् ।

    केसी नयाँ पाइलट थिएनन्, नेपाली आकाशमा उडान भरेको ३१ वर्षको अनुभव थियो । तर, पाका पाइलटको हैसियतले अप्ठ्यारा विमानस्थलमा उडान भर्न जिम्मा दिइने उनलाई आफ्नै अनुभवले पनि झुक्यायो । यतीमा उनी प्रशिक्षक पाइलटको जिम्मेवारीमा थिए । केसीले सन् १९८८ मा अमेरिकाको टेक्सासबाट प्रोफेसनल पाइलट कोर्स गरेका थिए । कोर्स सकिएलगत्तै उनी नेपाल फर्किएर १९८९ मा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजबाट उडान भर्न सुरु गरे ।

    सन् २००७ मा नेपाल एयरलाइन्स छाडेर यती एयरलाइन्समा उडान भर्न थाले । यती एयरलाइन्समार्फत उनले नेपालका लगभग सबैजसो हवाई रुटमा उडान भरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images