काठमाडौं- बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।
अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो । मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन् । काठमाडनैं बाहिर जाँदा पनि अनुमति लिएर जानुपर्नेछ ।
अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ ।
उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ । आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । अब उनले क्रिकेट खेल खेल्नसमेत पाउने भएका छन् ।
गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।


विश्व खबर 


















