काठमाडौं- बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् । लामिछानेलाई रिहाइ प्रक्रियाका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।
जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन ।
यसअघि उच्च अदालत पाटनले बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको थियो । सन्दीपका दाजु मोहन लामिछानेले धरौटी बुझाइसकेको र त्यसको पत्र कारागार पुगिसकेको छ ।
त्यसपछि उनलाई अदालतमा हाजिर गराइएको हो । अदालतमा मूल मुद्दाको तारिख बुझेपछि सन्दीप रिहा हुने उनका कानुन व्यवसायीले बताएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।
लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।
उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ । आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । अब उनले क्रिकेट खेल खेल्नसमेत पाउने भएका छन् ।
गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।



विश्व खबर 


















