images
images
  • नेपाल टी २० लिग: जनकपुरलाई हराउदै विराटनगर फाइनलमा

    काठमाडौं- विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
    विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटगरले चार विकेटको क्षतिमा एक सय ६७ रनको योगफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन मात्रै बनाउन सक्यो। चाडविक वाल्टनले ४७ बलमा ६ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथले ३४ तथा खडक बोहराले १४ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    विराटनगरका लागि किओन जोसेफले सर्वाधिक तीन तथा राज ननन र नन्दन यादवले दुई–दुई विकेट लिए। सूर्य तामाङ र हुसेन तलतले पनि एक–एक विकेट लिएका थिए।

    यसअघि पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै ओपनर गौरान्सु शर्मा र अर्जुन साउदले राम्रो सुरुआत दिलाएका थिए। गौरान्सुले ४१ बलमा दुई–दुई चौका र छक्का प्रहार गर्दै ४२ रनको इनिङ खेले। अजुर्न ३५ रन जोडेर पेभेलियन फर्के।

    यस्तै, हुसेन तलत २१ बलमा ३१ तथा राज ननन १८ बलमा ३३ रन जोडेर पेभेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। बलिङतर्फ जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए। शारफुद्दिन असरफ र ललित राजवंशीले एक–एक विकेट लिए।

    जनकपुरको टिम नआइपुग्दा समयमा टस हुन सकेको थिएन। दिउँसो १२ः०० बजे सुरु हुने तय भएको खेल करिब आधा घण्टा ढिलो मात्रै सुरु भएको थियो।

    समूह चरणबाट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो।

    विराटनगर इलिमिनेटरमा काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो। फार वेस्टर्न युनाइटेड र पोखरा समूह चरणबाटै बाहिरिइसकेका छन्।

    अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

    लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

    प्रतिक्रिया दिनुहोस्

    images