
काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चहान्छु ।’
अध्यक्ष लिङदेनले राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले हिनतावोध गर्नु नपर्ने बताउदैे सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको भन्दै धन्यवाद व्यक्त गरे ।
सांसदहरुलाई दिए चुले निम्तो
अध्यक्ष लिङदेनले संसदको रोष्टमबाट सांसदहरूलाई राष्ट्रिय एकता दिवसका चियापानको चुले निम्तो दिएका छन् ।‘राप्रपाको तर्फबाट सबै माननीय सदस्यलाई भोलि भकृकुटीमण्डमा चियापान छ, चुले निम्तो १’ लिङदेनले भने । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । भोलि बिदा दिने सरकारी निर्णयप्रति उनले संसदबाट धन्यवाद पनि दिए।
उनले हालको प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको रहेको बताए। उनले भने,’प्रतिनिधिसभाको संरचना विशेष प्रकृतिको छ। कुनै पनि दलको बहुमत छैन। सबै दलहरु मिलेर जानुपर्छ। कुनै विचार र दललाई निशेध गरिएको छैन।’
प्रतिनिधिसभाको संरचनाको गम्भीर्यतालाई देखेर नै राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताए।
प्रतिक्रिया दिनुहोस्