विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
नेता कार्की सत्ता साझेदार दलका नेता नेकपा (माओवादी केन्द्र) का नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गरेका थिए।
प्रदेश संरचना निर्माण भएपछि प्रदेश १ मा कार्की चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्। मुख्यमन्त्री नियुक्तसँगै उनले सबै पक्षलाई मिलाएर लैजाने बताएका छन्। उनले भने ‘गठबन्धनमा आवद्ध र अन्य दलहरुसँग छलफल गरी सबैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।’
विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म
२०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मेका नेता कार्की झापा गौरादहको जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुँदै विद्यार्थी राजनीतिमा आवद्ध भएका थिए।
विद्यालयमै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संगठित भएर राजनीति आरम्भ गरेका नेता कार्की धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत हुन्। उनले कानुनमा स्नातकोत्तर गरेका छन्।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका ५८ वर्षे मुख्यमन्त्री कार्कीले लामो समय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को राजनीति गर्दै २०५५ सालमा केन्द्रीय अध्यक्ष समेत बने।
नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा भएका उनी २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । उनी २०७१ सालदेखि २०७३ सालसम्म नेकपा एमाले मेची अञ्चल समन्वय कमिटिको इन्चार्जको जिम्मेवारीमा रहे।
नेता कार्की झापा क्षेत्र नम्बर ५(१) बाट पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर प्रदेश १ को पहिलो मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।





















