खुलेयाम जुवा र यौन धन्दा फष्टाउदै
भक्तपुर- झण्डै ६ महिना अघिसम्म पत्रकारको रूपमा चिनिएका रबि लामिछाने अहिले देशको उपप्रधान तथा गृहमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा छन् । पत्रकारको रूपमा उनी जति सफल र चर्चित हुन सफल भए अब गृहमन्त्रीको रूपमा त्यो सफलता हासिल गर्न सक्छन् सक्दैनन् त्यो प्रतिक्षाको बिषय छदैछ । उनी संचार क्षेत्रमा रहदा धेरै गलत कार्यहरूको उजागर मात्रै होइन फण्डाफोर पनि गर्न सफल पनि भए । उनले त्यतिबेला उपत्यकाका विभिन्न ठाउँमा फष्टाएको जुवा अखडाको धन्दा र बेश्यावृत्तिका बिरूद्व पनि धेरै फण्डाफोर मात्रै गरेनन् त्यस्ता काममा प्रहरीको साथ र सहयोग रहेको कुरा पनि सार्वजनिक गरे । अहिले उनी स्वयं गृह मन्त्रालयको कमाण्डर भएका छन् । अब उनले उठाएका यस्ता अबैध र गलत धन्दाको नियन्त्रण तर्फ चासो दिन्छन् या दिदैनन , त्यो हेर्न बांकी नै छ ।
भक्तपुरको जगाती , सांगा खरिपाटी र नगरकोट क्षेत्रमा धेरै होटल , लज रिसोर्ट र क्याबिन रेष्टुरेन्टहरूमा यस्ता गलत कार्य हुन्छन् भन्ने धेरै जनगुनासो आएपछि यस पत्रिकाका संवाददाता दुई दिन त्यस क्षेत्रका धेरै होटल , लज , रिसोर्ट र क्याबिनहरूमा अनुगमन एवं निरीक्षणका क्रममा जांदा थाहा भयो कि यी क्षेत्रमा रहेका केही होटल , लज , रिसोर्ट र क्याबिनमा खुलेयाम नै जुवातास र बेश्यावृत्ति समेत हुने गरेको देखियो । सूर्यविनायक क्रस गरेर जाने बित्तिकै देखि सांगा चोक सम्म पुग्दा धेरै त्यस्ता ठाउँ भेटियो जहाँ यौन धन्दाका लागि क्षेत्र नै छुट्टाएर कटेजहरू बनाइएको रहेछ ।रिसोर्ट नाम दिएका त्यस्ता ठाउँमा १० देखि १५ वटा सम्म कटेजहरू रहेको देखियो ।त्यस्ता कटेजमा लोबेड र टेबुल राखेको देखियो । कतिपय कटेजमा ए्याट्याज वाथरूम देखियो भने कतिपयका साझा बाथरूम । कटेज भनिएपनि कोठा नै रहेको देखियो । अलि स्तरयुक्त कटेजको एक घण्टाको १५ सय रूपैयाँ रहेछ भने अरूको हजार देखि १२ सयसम्म । यसबाहेक होटलको कोठाको हकमा १५ सय देखि ३ हजार सम्मका कोठाहरू पनि रहेछन् । तर यौन सम्पर्कका लागि जानेहरूले बढी कटेज र होटलको हकमा १५ सय सम्मको कोठा प्रयोग गर्ने गरेको पाइयो । त्यसक्षेत्रमा यो काममा जानेलाई घण्टाको लागि हो भनेर सोधिने रहेछ । कटेज , लज र होटलमा घण्टे रूम भन्ने प्रचलन त्याहां कार्यरत कामदारहरूले बताउने रहेछन् ।
होटलका कोठाहरू लिएर दिनभर मात्रै होइन रातिसम्म जुवा अखडा पनि हुने रहेछ । सिटीगांउमा कार्यरत एक कामदारले हजुर घण्टे कि रेष्टुरेन्ट तिर भनेर प्रश्न गरेपछि थाहा भयो कि उक्त भाषा प्रयोगबारे। सवारीसाधन पार्किङ गर्ने बित्तिकै कामदारले सोध्नेरहेछन कि घण्टे कि रेष्टुरेन्टमा भनेर । ती कामदारले भने , यहाँ केटी पाउने वा होटलले खोजिदिने होइन आंफै ल्याउनुपर्छ ।त्यस क्षेत्रका धेरै होटल , लज ,कटेज र क्याबिनवालाहरूको धन्दा घण्टे नै रहेछ । त्याहां कार्यरत अधिकांश कामदारले खुलेयाम नै भन्छन् कि , साहुहरूले प्रहरी मिलाएको छ , कसैले छापा हान्दैनन।
सिटीगांउमा कार्यरत एक कामदारले भने , जगातीका हाकिम र घुमुवा देखि भक्तपुर (परिसरका) घुमुवाहरू सबै मिलाएको छ । कसैले छापा हान्दैनन , ढुक्कसँग बसे हुन्छ ।अरनिको होटलमा कार्यरत अर्का एक कामदारले भने, जगाती र जिल्लाको घुमुवालाई छुट्टै दिनुपर्छ भने हाकिमको लागि छुट्टै । घुमुवा बाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयबाट जगाती र जिल्लामा खटिएकालाई छुट्टै रकम दिनुपर्ने रहेछ , कहाँ सजिलो छ र ।
खरिपाटी क्षेत्रमा रहेका कटेज र होटलको पनि यस्तै अवस्था रहेछ । नगरकोटमा स, साना धेरै होटल र लजमा पनि घण्टे देखि रात बिताउने जोडीहरू धेरै जाने रहेछन् । यहाँका स, साना होटल लजमा भने घण्टेको हजार सम्म रहेछ भने अलि राम्रा , जहाँ प्रहरीले छापा हान्दैन तिनीमा २ देखि ३ हजार सम्म प्रति रातको पर्ने रहेछ । नगरकोटमा यस्तो गलत धन्दा गर्नेहरूले परिसरका घुमुवा र लोकल प्रभागका प्रमुखलाई मासिक रकम बुझाउनुपर्ने रहेछ ।
यस्तो गलत धन्दा र क्रियाकलापका सम्बन्धमा किन कार्वाही गरिदैन भन्ने बिषयमा भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजु पाण्डेसंग प्रश्न गर्दा उनले प्रहरीले निगरानी गरिरहेको र बेला बेलामा छापा हानिरहेको बताए । उपत्यका प्रहरी कार्यालयमा एआइजिपी दिवेश लोहनी कार्यरत रहेपनि उनले यस्ता गलत धन्दा बिरूद्व अप्रेसन चलाउन सकेका छैनन् ।


विश्व खबर 




















