धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि ९सोमबार०का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।
प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।
दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका छैनन्। नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सभामुखको उम्मेदवार को बन्ने भनेर पार्टीले टुङ्गो नलगाएको बताए।
सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेश सभामा नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गरेको छैन भने नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दलको नेता चयन गरेका छन्।


विश्व खबर 















