रुपन्देही- पुस नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेको भन्दै एउटै पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको उल्लेख गरे।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो ।
उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।
कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए ।
संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।
दलहरुको बीचमा सहमति, सहकार्य आवश्यक रहेकोमा जोड दिँदै गुरुङले राष्ट्रियतासँग जोडिएका मुद्दामा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्ने धारणा राखे।






















