काठमाडौं – सन् २०२७ को आईसीसी यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । आईसीसीले आइतबार सन् २०२७ को यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो ।
महिला र पुरुष यु-१९ विश्वकप आयोजनाका लागि नेपाल र बंगलादेशका अतिरिक्त श्रीलंका, जिम्बाबे र नामिबियाले पनि दाबी पेश गरेका थिए । यसका अतिरिक्त मलेसिया र थाइल्यान्डले पनि संयुक्त रुपमा यु-१९ विश्वकप आयोजनाको दाबी प्रस्तुत गरेका थिए ।
बोर्ड बैठकबाट सन् २०२४ देखि सन् २०२७ सम्म विभिन्न यु-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरिएको आईसीसीले जनाएको छ । सन् २०२५ को यु-१९ महिला विश्व कप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना हुनेछ । त्यसअघि सन् २०२३ को यु-१९ महिला विश्वकप भने दक्षिण अफ्रिकामा आयोजना हुनेछ ।
यसैगरी सन् २०२४ को आईसीसी यु-१९ पुरुष विश्व कप भने श्रीलंकामा आयोजना हुने भएको छ । सन् २०२६ को यु-१९ पुरुष विश्व कप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् ।
मार्टिन स्नेडेनको अध्यक्षतामा गठित उपसमितिले आयोजकहरुको टुंगो लगाएको पनि आईसीसीले जनाएको छ । आईसीसीले यु-१९ महिला विश्वकप सन् २०२१ मा आयोजना गर्ने तयारी गरेको थियो । तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आईसीसीको योजना सफल हुन सकेन ।
त्यसपछि बंगलादेश क्रिकेट बोर्डले यो प्रतियोगिता आयोजना गर्ने जिम्मेबारी पाएको थियो । तर, दोस्रो पटक पनि कोरोना महामारीकै कारण प्रतियोगिता हुन सकेन । अहिले तेस्रो पटक प्रतियोगिताको मिति तय गरिएको हो ।


विश्व खबर 


















