images
images
  • आजबाट बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

    काठमाडौं-बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

    बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

    समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।

    नेपाल बीमा प्राधिकरणको यस्तो छ काम र अधिकार

    insurance authority kupoldone

    नेपाल बीमा प्राधिकरणलाई थप स्वायत्तता
    नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र प्राधिकरणले नेपाल सरकोको बीमा सम्बन्धी सल्लाहकारका रुपममा समेत कार्य गर्ने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । ऐन नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ । बीमा कम्पनीको स्थाना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरु प्राधिकरणमा निहित रहने भएको छ ।

    बीमा व्यवसायसँग सम्बन्धित पँजी तथा पँजीकोष निर्धारण गर्ने, बीमा व्यवसायको जोखिम न्यूनिकरण गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने, न्यून आय भएको वर्गसम्म बीमाको पहुँच पुर्याउन लघुबीमा व्यवसायको प्रवद्धैन गर्ने, बीमा सम्बन्धमा प्रदेशसँग समन्वयन गर्ने लगायतका कार्यहरु प्राधिकरणले गर्ने कानूनी व्यवस्था छ ।

    बीमा विकास कोष र बीमित हित संरक्षण कोष

    आर्थिक रुपले विपन्न वर्गका नागरिकसम्म बीमाको पहुँच पुर्याई बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि नेपाल बीमा प्राधिकरणमा एक बीमा विकास कोष रहने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने लघुबीमा नियमन शुल्कको ५० प्रतिशतले हुन आउने रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने नियमन शुल्कको ३३ प्रतिशतले हुन आउने रकम र अन्य स्रोतबाट प्राप्त रकम रहने कानूनी व्यवस्था गरिएको छ ।

    प्राधिकरण अन्तर्गत एक बीमित हित संरक्षण कोष रहने व्यवस्था ऐनले गरेको छ । कोषमा प्राधिकरणले सो प्रयोजनका लागि छुट्याएको रकम, जीवन बीमा व्यवसाय गर्ने बीमकबाट प्राधिकरणले तोकेको रकम र जीवन बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने अपस्था परी भुक्तानी हुन नसकी दाबी नभएकोमा जम्मा भएको रकम रहने व्यवस्था ऐनमा रहेको छ ।

    बीमा मर्जर
    बीमक गाभ्न वा गाभिन सक्ने, बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने, नेपाल बीमा प्राधिकरणले बीमालाई गाभ्न वा गाभिन निर्देशन दिनसक्ने, बीमकले अर्काे बीमक प्राप्ति गर्न सक्ने, कुनै बीमकले कानून विपरित काम गरेमा त्यस्तो बीमकको इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन र इजाजतपत्र खारेज गर्न सक्नेसम्मका अधिकार प्राधिकरणमा रहेको छ ।

    प्राधिकरणले समय समयमा चुक्ता पूँजी निर्धारण गरे बमोजिम बीमकले चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेको छ । बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेको लगायतका समस्याहरु देखिएमा प्राधिकरणले बीमितको हकहित संरक्षणका लागि त्यस्तो बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्ने र विशेष व्यवस्थापन समुह गढन गरी बीमकको संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यअघि बढाउन सक्ने कानूनी व्यवस्था रहेको छ ।

    बीमा सूचना केन्द्र र बीमा सम्बन्धी प्रतिष्ठान
    प्राधिकरणले बीमा क्षेत्रका सूचना सङ्कलन गरी व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने, बीमा व्यवसायमा हुनसक्ने जालसाजी, कीर्ते वा ठगी सम्बन्धी दाबीहरुको अध्ययन अनुसन्धानका लागि बीमा सम्बन्धी प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था बीमा ऐन, २०७९ ले गरेको छ । प्राधिकरणको पूर्व स्वीकृति लिएर बीमकले नेपालभित्र वा विदेशमा शाखा कार्यालय खोल्न सक्ने कानूनी व्यवस्था गरिएको छ ।

    इन्स्योेरेन्स फण्ड र महाविपत्ति कोष

    बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोष (इन्स्योरेन्स फण्ड) को व्यवस्था गर्नुपर्ने छ । साथै, बीमकले बीमा व्यवसाय सम्बन्धी दायित्व बहन गर्न छुट्टै एक अनिवार्य जगेडा कोष समेत कायम गर्नुपर्ने व्यवस्था ऐनमा रहेको छ ।
    बीमकले महाविपत्तिको कारणबाट भविष्यमा आइपर्ने क्षति व्यहोर्नका लागि छुट्टै एक महाविपत्ति कोष राख्नुपर्ने र दाबी भुक्तानी कोष तथा जगेडा समेत खडा गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

    बीमकको कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुनुपर्ने र कूल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्रि गर्नका लागि छुट्याउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

    लघुबीमा व्यवसाय
    प्रत्येक बीमकले न्यून आय भएका वर्ग तथा पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नुपर्ने, लघुबीमा मात्र गर्ने प्रयोजनका लागि बीमा कम्पनी खोल्न सकिने र लघुबीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक बीमकले आर्जन गरेको कूल बीमा शुल्कको ०.५ प्रतिशतका दरले नियमन शुल्क प्राधिकरणमा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । इजाजत प्राप्त बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ ।

    सरकार समक्ष प्रतिवेदन पेश
    नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने कााूनी व्यवस्था रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images